मन्त्रालयगत प्रगति समिक्षाः १९५ मेगावाट विद्युत् थप, ९१५ किमी सडक कालोपत्रे

Investopaper, असार २७, २०७६

काठमाण्डौ – चालु आर्थिक वर्ष २०७५/०७६ मा नेपालमा १९५ मेगावाट विद्युत् थप भएको छ भने ९१५ किलोमिटर सडक कालोपत्रे भएको छ ।

यो विद्युत् थप भएसँगै देशको कुल विद्युत्जडित क्षमता एक हजार ३२५ मेगावाट पुगेको छ जुन अघिल्लो आवको तुलनामा ७७ प्रतिशतले वृद्धि हो । त्यस्तै ६६ केभीभन्दा बढी क्षमताको ७५७ किमी प्रसारण लाइन निर्माण सम्पन्न भएको सरकारले जनाएको छ । प्रधानमन्त्रीबाट चालु आवमा ‘जनताको जलविद्युत् कार्यक्रम’ शुभारम्भ गरिएको थियो । 

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बिहीबार भएको मन्त्रालयगत वार्षिक समीक्षा बैठकमा चालु आवमा चार लाख २० हजार घरधुरीमा विद्युत् सेवा पुर्याइएको सम्बन्धित मन्त्रालयका सचिवले जानकारी दिनुभयो ।

पूर्वाधारतर्फ यस अवधिमा एक हजार ५० किमी सडक ग्राभेल भएको र ठूला साना गरी कूल २४३ पुल बनेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । त्यस्तै माटे सडक ३१५ किमी बनेको र ४२१ किमी रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार भएको मन्त्रालयले जनाएको छ ।

जयनगर–जनकपुर–कुर्था ३५ किमी रेललाइन तथा रेल्वे स्टेशन तयार भई आगामी असोजसम्म सञ्चालन हुने अवस्थामा पुगेको छ भने बथनाहा–विराटनगर १८ किमी रेल सञ्चालनका लागि तयार भएको छ ।

रक्सौल–काठमाण्डौ १३५ किमी र काठमाडौँ–रसुवागढी ७२ किमी रेलमार्ग निर्माणको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन तयार भएको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।

  • रासस
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *