म तिम्रा अघि पर्न लायक कहाँ छु ?
-- कवि मोतीराम भट्ट
म तिम्रा अघि पर्न लायक कहाँ छु,
त्यसैले अघि सर्न लायक कहाँ छु ?
हुकुम हन्छ तिम्रो त हाजिर छदैछु,
बिना मर्जि आँट गर्न लायक कहाँ छु ?
अरुका ऊपर आखी भौ तानी हाने,
म जावो हरे मर्न लायक कहाँ छु ?
जहाँसम्म मन चल्छ लौ हुन्छ घुर्कुनु,
तनै झै नजर तर्न लायक कहाँ छु ?
सहडमै छ मन हर्न सक्नु हरिले,
सुनीस मोति त्यो गर्न लायक कहाँ छु ?
