वरिष्ठ गायक जीतेन राईलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’
इन्भेष्टाेपेपर । कार्तिक २९, २०७७
इटहरी । वरिष्ठ गायक तथा संगीतकार जीतेन राई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित भएका छन्। ‘रमपम पूर्वेली म्यूजिक अवार्ड–२०२०’ अन्तर्गत उनी लाईफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका हुन्।
शुक्रबार इटहरीको होटल बरण्डामा आयोजित एक समारोहमा प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियतमार्फत राईलाई २५ हजार रुपैयाँ नगदसहित ताम्रपत्र प्रदान गरिएको छ।
पाँचथरमा वि. सं. २०१३ सालमा जन्मिएका गायक तथा संगीतकार राई पूर्वेली लोक संगीतका शिखर व्यक्तित्व हुन्। उनले आफ्ना गीत संगीतमा बिनायो, मुर्चुङ्गा, टुङ तथा यलम्बर बाजा लगायतका लोकबाजाहरूको मौलिक प्रयोग एवम् संयोजन गर्दै आएका छन्। किरात मिथकमा आधारित ‘बिनायो’ चललिचत्र समेत निर्माण गरेका उनी तीन दशक पहिलेदेखि मौलिक बाजाको संरक्षणमा अभियान चलाउँदै आएका छन्।
पूर्वेली मिडिया नेटवर्कले आयोजना गरेको कार्यक्रममा २२ विधाका कलाकारलाई अवार्ड प्रदान गरिएको थियो। (अन्नपूर्णा पाेस्टबाट)
