शेयर बजारमा १० लाखमाथिको कारोबार निगरानीमाः स. शु.काे नयाँ निर्देशिका लागू
Investopaper, असार ०७, २०७६
पुँजी बजारमा एक दिनमा १० लाख रुपैयाँभन्दा धेरैको कारोबार गर्नेलाई सरकारले निगरानीमा राख्ने भएको छ। नेपाल धितोपत्र बोर्डले कार्यान्वयनमा ल्याएको सम्पत्ती शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०७६ मा यस्तो प्रावधान राखिएको छ।
निर्देशिकामा कालो धन नियन्त्रण गर्न एक दिनमा पटकपटक वा एकैपटक १० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्ने ग्राहकको जानकारी ब्रोकर (सूचक)ले नेपाल राष्ट्र बैंकको वित्तीय एकाईमा जानकारी गराउनुपर्नेछ ।
धितोपत्र तथा बस्तु बजारसम्बन्धी व्यवसाय तथा काम कारबाही र कारोबारलाई पारदर्शी बनाइ लगानीकर्ताको हित संरक्षण गर्न तथा उक्त व्यवसायमा संलग्न सबैलाई जिम्मेवार बनाउन ऐन जारी गरिएको बोर्डले जानकारी दिएको छ । साउन १ गतेदेखि कार्यान्वयनमा आउने यो निर्देशनले साबिकको निर्देशिकालाई प्रतिस्थापन गरेको छ ।
निर्देशनका अन्य व्यवस्थाहरु यस्ता छन्:-
- सूचक संस्थाले आफ्नो कारोबार र व्यवसाय सञ्चालन गर्दा कानूनको पालना र उच्च नैतिक मापदण्डहरुको पालना र अनुसरण गर्नुपर्ने ।
- सूचक संस्थाले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलाप सम्बन्धी प्रचलित कानूनको कार्यान्वयन र त्यस सम्बन्धी कसूरको अनुसन्धान तथा तहकिकातमा कानून कार्यान्वयन गर्ने निकायलाई आवश्यक सहयोग गर्नुपर्ने ।
- सूचक संस्थाले आफ्ना ग्राहकको सही रुपमा पहिचान तथा सोको सम्पुष्टि गर्नुपर्ने।
- सूचक संस्थाले उच्चपदस्थ व्यक्तिको विशेष पहिचान वा यकिन गर्दा थप उपायहरु समेत अवलम्बन गर्नुपर्ने।
सूचक संस्थाले वास्तविक धनीको पहिचान गर्दा वास्तविक धनी पहिचान गर्ने संयन्त्र बमोजिमको व्यवस्था मिलाउनुपर्ने । - सूचक संस्थाले वास्तविक धनी वा निजको परिवार तथा सम्बद्ध व्यक्तिको सूचीको अभिलेख व्यवसायिक सम्बन्ध वा कारोबार समाप्त भएको मितिले पाँच वर्षसम्म राख्नुपर्नेछ ।
- सूचक संस्थाले जोखिमको पहिचान, मूल्याङ्कन तथा व्यवस्थापन गर्दा राष्ट्रिय तथा क्षेत्रगत जोखिम मूल्याङ्कन सम्बन्धी प्रतिवेदन, सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धमा कुनै प्रतिष्ठित अन्तर्राष्ट्रिय संस्थाले गरेको अध्ययन तथा अनुसन्धानको प्रतिवेदन, व्यवसायिक सम्बन्ध, सीमा र प्रकृति, ग्राहक सम्बन्धी जोखिम हुनसक्ने तत्वहरु र जोखिम सापेक्ष अन्य विषयलाई समेत आधार लिनुपर्ने ।
- सूचक संस्थाले जोखिमलाई उच्च, मध्यम, न्यून वर्गमा वर्गीकरण गर्नु पर्नेछ। साथै, सूचक संस्थाले जोखिमको समीक्षाको आधारमा थप वर्गीकरण गर्नसक्ने इत्यादि ।
जोखिम मूल्याङ्कन गर्दा उच्च जोखिम देखिएका ग्राहकको हकमा बृहत ग्राहक पहिचानको उपाय अवलम्बन गर्नुपर्ने । - सूचक संस्थाले जोखिमको आधारमाआफूसँग कारोबार गरिरहेकातथागर्ने ग्राहकको पहिचान सम्बन्धी सूचना तथा विवरण राख्ने व्यवस्था लागू गर्नुपर्ने,
- सूचक संस्थाले ग्राहकको सही रुपमा पहिचान तथा सोको सम्पुष्टि भरपर्दो स्रोतबाट प्राप्त कागजात, तथ्याङ्क वा जानकारीका आधारमा गर्नुपर्ने,
- ग्राहकको पहिचानका सम्बन्धमा पेश गरिएका विवरण तथा कागजातहरु रुजु गर्ने जिम्मेवारीसहित कुनै कर्मचारीलाई तोकी त्यस्ता विवरण तथा कागजातहरुको आधिकारिकता निजबाट रुजु गराई राख्नुपर्ने
- ग्राहकको पहिचान तथा जाँच गर्दा जोखिममा आधारित भएर गर्नुपर्ने,
- सूचक संस्थाले व्यवसायिक सम्बन्ध स्थापना गर्दा वा कारोबार गर्दा वास्तविक धनीको पहिचान तथा सम्पुष्टि गर्नका लागि आवश्यक मुनासिव उपायहरु अपनाउनुपर्ने
- एक दिनमा पटक–पटक वा एकै पल्ट दशलाख रुपैंया भन्दा बढीको कारोवारको जानकारी वित्तीय जानकारी इकाईमा दिनुपर्ने,
- शंकास्पद कारोवार सम्बन्धी प्रतिवेदन वित्तीय जानकारी इकाईमा दिनुपर्ने,
- सूचक संस्थाले ग्राहकसँग व्यवसायिक सम्बन्ध स्थापना गर्दा वा कारोबार गर्दा बृहत ग्राहक पहिचान सम्बन्धी उपयुक्त उपायहरु अपनाउनुपर्ने ।
- सूचक संस्थाले खास कारोबारको सम्बन्धमा विशेष ध्यान दिने प्रणालीको विकास गरी लागू गर्नु पर्नेछ ।
- ऐन, नियमावली र यस निर्देशनको व्यवस्थाको प्रभावकारी कार्यान्वयन नगर्ने सूचक संस्था र त्यस्तो सूचक संस्थाको कर्मचारी तथा पदाधिकारीलाई ऐन बमोजिमको कारबाही हुनेछ । कारवाहीको प्रकार अन्तर्गत पहिलोे पटक लिखित रुपमा सचेत गराउने, दोेस्रो पटक कुनै वा सबै प्रकारको व्यवसाय गर्न रोक लगाउने, तेस्रो पटक दशलाख रुपैयाँदेखि पाँच करोड रुपैयाँसम्म जरिवाना गर्ने र त्यसपछि सूचक संस्थाको दर्ता खारेजसम्मका कारबाही गर्ने।
नेपाल धिताेपत्र वाेर्डवाट जारि प्रेस विज्ञप्ति हेर्नकाे लागि यहां क्लिक गर्नुहाेस ।
