स्टार्टअप आइडिया कलको युवा उद्यमी प्रवर्द्धनकाे कार्यक्रम सुरु

इन्भेष्टाेपेपर । माघ ०५, २०७७

बागमती प्रदेश सरकार, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउण्डेशनले स्टार्टअप आइडिया कल कार्यक्रम अन्तगर्त युवा उद्यमी प्रवर्द्धन कार्यक्रम सुरु भएको छ । शनिबार एक कार्यक्रमका बिच अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्रालयका सचिव डा. सिन्धुप्रसाद ढुङ्गाना र राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले कार्यक्रमको सुरुवात गर्नुभएको हो ।

कार्यक्रममा अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठले उद्यमी बन्नका लागि आत्मविश्वास, धैर्यता, बिषयबिज्ञता र बजारको बस्तुस्थीतिबारे राम्रो ज्ञान हुन आवश्यक रहेको बताउनु भयो । घरेलु, साना उद्यमी तथा सृजनशील सोच भएका युवाहरुकै लागि सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रम ल्याएको र यसको सफल कार्यान्वयनका लागि स्टार्टअप आइडिया कल कार्यक्रममा सहभागी हुन युवाहरुलाई आग्रह समेत गर्नुभयो ।

मन्त्रालयका सचिव डा. सिन्धुप्रसाद ढुङ्गानाले युवा मैत्री उद्यमका कार्यक्रम मन्त्रालयको प्राथमिकतामा रहेको बताउदैं आगामी बर्ष युवा लक्षित कार्यक्रमलाई बढाउदै जाने बताउनु भयो ।

राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले नयाँ युवा पुस्ताको सोच माथी लगानीगर्ने कार्यक्रम नै आइडिया कल कार्यक्रम भएकाले बैंकले सुरु गरेको यो कार्यक्रममा सहभागी हुन युवाहरुलाई आग्रह गर्नु भयो । सरकारको पूर्ण स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक सहुलियतपूर्ण कर्जा बितरणमा अन्य बैंक भन्दानिकै अघि रहेको उल्लेख गदैं आगामी दिनमा युवाउद्यमी प्रवर्द्धनमा बैंक क्रियाशिल रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सोहि समारोहमा नेपाल उद्योग परिसंघका राष्ट्रिय परिषद् सदस्य एवं बैंकर बर्षा श्रेष्ठ, विशाल फाउण्डेशनका अध्यक्ष नरेशप्रसाद श्रेष्ठ, कार्यकारी निर्देशक विशाल गैरे, एड मार्क कलेजका संस्थापक शिवप्रसाद अधिकारी लगायतले समुद्घाटन सत्रमा उद्यम, उद्यमशीलता र युवा सहभागीताबारे मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रमको दोस्रो र तेस्रो सेसनमा युवा स्वरोजगार कोषका पूर्व कार्यकारी निर्देशक बिनोद गुरागाई, त्रिभुवन विश्व बिद्यालय व्यवस्थापन संकायका सहायक डिन डा. ध्रुवराज पोखरेल, खल्ती डटकमका अमित अग्रवाल, पैचो पसलका प्रवन्ध सञ्चालक ध्रुव न्यौपाने, राष्ट्रिय बाणिज्य बैंकका उपकार्यकारी अधिकृत देवेन्द रमण खनाल, महिला उद्यमी भारती पाठक, अञ्जु पौडेल लगायतले विभिन्न सेसनमा बोल्नु भएको थियो ।

सरकार, वित्तिय संस्था र निजि संस्थाको संयुक्त आयोजनामा सुरु भएको यो कार्यक्रम बागमती प्रदेशभित्रका ६ वटा (व्यवस्थापन–बिबिए-एमबिए) कलेजहरु र सामाजिक संस्थाहरु (लियो / रोटट्य्राक क्लव) संगको सहकार्यमा चितवन, हेटौडा, धुलिखेल र सिन्धुली जिल्लामा गरी १० वटा बृहत उद्यमशीलता र बित्तिय साक्षरता सहितको युवा उद्यमी प्रवद्र्धनकार्यक्रम आयोजना गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिनु भयो ।

युवाहरुलाई उद्यमव्यवसायतर्फ आकर्षित गर्न, बिद्यार्थीमा अध्ययन पुरा गरेपछि जागिर खोज्ने भन्दा आफैले नयाँ उद्यम सुरुवातगर्ने प्रेरणा मिलोस् भन्ने उद्देश्यका साथ सञ्चालन हुने यो कार्यक्रमको एउटा सेसनमा २०० जना युवा बिद्यार्थीलाई राखेर स्वदेश तथा विदेशमा उद्यमशीलता विकास, नयाँ अवशरहरु, इनोभेसन र टेक्नोलोजी, नेपालमा नयाँ स्टाट अफ कम्पनीलाई सरकारले दिने अनुदान, बैंकहरुको लगानी, कम्पनी दर्ता र यसका चुनौति, बजार विस्तार लगायतका विभिन्न बिषयमा केन्द्रीत रहनेगरी कार्यक्रम सञ्चालन गरिने कार्यक्रमका संयोजक एवं विशाल फाउण्डेशनका कार्यकारी निर्देशकविशाल गैरेले जानकारी दिनु भयो ।

सरकार, बैंक र सामाजिक संस्था सहितको सहभागीतामा गत मंसीर २४ गते समुद्घाटन भएको नवप्रवर्तन प्रस्ताव आह्वान (Startup Idea Call) कार्यक्रमलाई समेत यो कार्यक्रमले सहयोग पुग्ने आयोजकले विश्वास लिएको छ । वाणिज्य बैंक र विशाल फाउण्डेशनले सुरु गरेको आइडिया कल कार्यक्रममा आवेदन दिने समय यहि माघ मसान्तसम्म रहेको छ । पहिलो चरणमा एड मार्क कलेजसंगको सहकार्यमा आयोजना गरिएको पहिलो श्रृङ्खलामा २०० युवाहरुको सहभागीता रहेका थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *