स्थानीय व्यवसायिक कृयाकलापसँग सहकार्य गर्न ढकालको आग्रह

इन्भेष्टाेपेपर । फागुन ०२ २०७७

रुपन्देही — नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले स्थानीय रुपमा सम्भावित व्यावसायहरु पहिचान गरेर उद्योग व्यवसायको क्षेत्रलाई थप अगाडि बढाउन आग्रह गर्नु भएको छ ।

बुटवल उद्योग बाणिज्य संघ, रुपन्देहीले शुक्रबार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै ढकालले उद्योग, व्यवसाय संचालनका क्रममा उद्यमीहरुले सामना गर्नु परेका समस्या सुल्झाउन महासंघको वर्तमान नेतृत्वले एकढिक्का भएर गम्भीरतापूर्वक कार्य गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्थानीय कतिपय समस्या स्थानीय संघले नै सुल्झाउने गरेको छ, र त्यो कार्य गर्न संघहरु नै सक्षम छन् । तर कतिपय विषय केन्द्रस्तरमा उठाउनु पर्ने हुन्छ, नीतिगत लबी गर्नुपर्ने हुन्छ, र त्यसका लागि महासंघ सधैं तत्पर छ ।”

वरिष्ठ उपाध्यक्ष ढकालले आफूलाई निर्वाचित गराउन रुपन्देही संघले गरेको साथ, सहयोग र समर्थनप्रति पनि आभार व्यक्त गर्नुभयो । चुनावका बेलाजस्तो अहिले महासंघभित्र पक्ष, विपक्ष रहेको छैन भन्दै उहाँले अब हुन लागेका संघहरुका चुनावमा पनि सकभर सहमति र सर्वसम्मत विधिबाट नेतृत्व चुन्न आग्रह गर्नुभयो ।

उहाँले तिक्तता र पक्ष विपक्ष भएर चुनावमा उठे पनि सबै उम्मेदवारबीच राम्रो सहकार्य, मित्रता र समझदारी हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यस अवसरमा ढकालले लुम्बिनी केबलकार प्रालिद्वारा निजी क्षेत्रको लगानीमा निर्माण हुन लागेको बुटवल –३ स्थित गोलपार्कदेखि पाल्पा जिल्लाको तिनाउ वसन्तपुरसम्मको लुम्बिनी केबलकारको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शनिबार शिलान्यास गर्न लागिएको जानकारी दिँदै उक्त समारोहमा सहभागी भएर हौसला बढाइदिन आग्रह पनि गर्नु भएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *