२५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युतको निर्माण कार्य जेठ अन्तिममा सकिने
इन्भेष्टोपेपर । बैशाख १५, २०७८
लमजुङ । दोर्दी गाउँपालिका–६ ढोडेनीमा लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माणाधीन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ आयोजना आगामी जेठको अन्तिमसम्म निर्माण सम्पन्न हुने भएको छ ।
दोर्दी खोलामा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको अधिकांश निर्माण कार्य सम्पन्न भइसकेको जेठको अन्तिम सातासम्म निर्माण कार्य सम्पन्न गर्दै विद्युत् उत्पादन गर्ने आयोजनाका प्रवर्द्धक राजेन्द्र वस्तीले बताउनु भयाे ।
यही साताभित्र टनेलमा पानी हाल्ने तयारी भइरहेको छ । आयोजनाको पावर हाउसमा मेशिनको काम गर्नलाई भारतबाट इन्जिनियर ल्याउने प्रक्रियामा रहेको उहाँको भनाइ छ । यस आयोजनाले यसअघि गत चैत महीनासम्म निर्माण कार्य सम्पन्न गर्दै विजुली उत्पादन गर्ने लक्ष्य राखेको थियो ।
कोभिड-१९ का कारणले आयोजनामा प्रभाव पारेकाले निर्माण कार्यमा ढिलाइ भइरहेको साथै जिल्लामा १२० केभी प्रसारण लाईनको निर्माण कार्य सम्पन्न भइनसकेकाले समेत विद्युत् उत्पादनमा ढिलाइ हुनपुगेको आयोजना प्रवर्द्धक वस्तीको भनाइ छ ।
आयोजना रू. तीन अर्ब ९६ करोड लगानीमा सम्पन्न गर्ने लक्ष्य थियो । तर निर्माण अवधि लम्बिँदै जाँदा रू. चार अर्ब ६४ करोड खर्च हुने अनुमान गरिएको आयोजनाको भनाइ छ । उक्त अवधिमा पनि अझै कोभिड-१९ को प्रभाव भएर समय थप भएमा आयोजनाको लागत बढ्न सक्ने आयोजना प्रवर्द्धक वस्तीले बताउनु भयाे ।
आयोजनाबाट वार्षिक १३ करोड ६७ लाख ८४ हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले जानकारी दिएको छ । नेपाल विद्युत् प्राधिकरण र सो कम्पनीबीच भएको सम्झौताअनुसार सुक्खा याममा रू. आठ रुपैयाँ ४० पैसा र वर्षायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरीद गरिने छ । (रासस)
