नेपालमा दासप्रथा उन्मूलन भएको १०० वर्ष पूरा

न्भेष्टाेपेपर ।  वैशाख १, २०८२

काठमाण्डाै । नेपालमा दासप्रथा उन्मूलन भएको १०० वर्ष पूरा भएको छ । तत्कालीन प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरले १९८२ साल वैशाख १ गतेदेखि देशमा दासप्रथाको उन्मूलन गर्नुभएको हो ।

चन्द्रशमशेरले १९८१ साल मङ्सिर १४ गते टुँडिखेलमा रहेको खरीको बोटबाट जनताको नाममा सम्बोधन गर्दै दासप्रथा उन्मूलनको घोषणा गर्नुभएको थियो । त्यसपछि ऐन बनाएर १९८२ सालको वैशाख १ गतेदेखि कार्यान्वयन गर्नुभएको हो ।

त्यसअघि नेपालमा दासदासीलाई कमाराकमारी अथवा केटाकेटी भन्ने चलन थियो । दासहरूले खेतीपाती, घरधन्दालगायत कामहरू निःशुल्क गर्नुपर्थ्याे । उनीहरूलाई जनावरजस्तै किन्न, बेच्न वा उपहारका रूपमा दिनसमेत सकिन्थ्यो ।

मध्यकालीन नेपालमा सामन्तीवादी कुरीतिका रूपमा यसको विकास भएको थियो । पृथ्वीनारायण शाह, भीमसेन थापादेखि जङ्गबहादुरसम्मले दासत्व मोचनका लागि प्रयास गरे पनि ऐन बनाएर यसलाई निर्मूल गर्ने बहादुरी भने चन्द्रशमशेरले देखाउनुभएको हो । दासदासीलाई मुक्त गर्न सरकारले पशुपतिनाथको गुठीबाट ३६ लाख ७० हजार रुपैयाँ झिकेर मालिकहरूलाई तिरेको थियो ।

न्युयोर्क टाइम्सले नेपालमा दासप्रथा उन्मूलन भएको समाचारलाई प्राथमिकताका साथ छापेर सम्पादकीयसमेत लेखेको थियो । न्युयोर्क टाइम्सको समाचार अनुसार मुक्त भएका ५९ हजार ८ सय ७२ मध्ये ५१ हजार ७ सय ८२ जनालाई प्रतिव्यक्ति औसतमा ७० रुपैयाँ तिरेको उल्लेख छ । ४ हजार ६ सय ५१ जना दासलाई मालिकले विना क्षतिपूर्ति मुक्त गरेका थिए भने १ सय १४ जना दासले भने आफ्नो मोल आफैँ तिरेका थिए ।

बेलायत भ्रमणबाट फर्केपछि चन्द्रशमशेरको धारणा फेरिएको र विदेशमा नेपालको प्रतिष्ठा राख्न दास उन्मूलनको घोषणा गरेको मानिन्छ । याे समाचार उज्यालाे खवर पत्रिकामा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *