नेपालबाट वार्षिक १२ अर्बको हस्तकला निर्यात

न्भेष्टाेपेपर । मंसिर २६, २०८०

काठमाडौँ ।  नेपालबाट वार्षिक १२ अर्ब मूल्य बराबरको हस्तकला विदेश निर्यात हुने गरेको छ । नेपाल हस्तकला महासङ्घले २० औँ हस्तकला व्यापार मेला तथा १८ औँ हस्तकला प्रतियोगिताबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपालबाट ६० भन्दा बढी देशमा सो मूल्य बराबरको हस्तकला विदेश निर्यात हुने गरेको जानकारी दिइयो । 

त्यस अवसरमा महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले राष्ट्रिय अर्थतन्त्रमा नेपाली हस्तकला क्षेत्रको महत्त्वपूर्ण योगदान रहेकाले हस्तकलाको संरक्षण र संवर्द्धनमा सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । आगामी मङ्सिर २८ देखि पुस २ गतेसम्म आयोजना हुन लागको १८ औँ हस्तकला प्रतियोगिता र २० औँ हस्तकला व्यापार मेलामा सहभागी हुन आग्रह गर्नुभयो ।

दरबारमार्गस्थित होटल डेल अन्नपूर्णमा आयोजना गर्न लागिएको व्यापार मेला तथा प्रतियोगितामा तीन प्याभिलियनसहित एक सय ३० कक्ष रहने छन् । मेलामा एक लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकको भनाइ छ । अठारौँ हस्तकला प्रतियोगितामा परम्परागत विधातर्फ पौभा र समसामयिक विधातर्फ छ्वाली कलाको प्रतियोगिता गराइने छ । 

प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार, द्वितीय पुरस्कार ३० हजार र तृतीय पुरस्कार २० हजार राखिएको छ । सो अवसरमा ७० वर्ष नाघेका १० जना ज्येष्ठ तथा वरिष्ठ कलाकारलाई सम्मान गरिने छ । (रासस) 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *