नुवाकोटमा निर्माणाधीन सौर्य प्लान्टबाट २५ मेगावाट विद्युत् उत्पादन
इन्भेष्टाेपेपर । भाद्र २७, २०७९
त्रिशूली (नुवाकोट) । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको देशकै ठूलो सोलार प्लान्टबाट २५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । एक वर्षभित्र काम सम्पन्न गर्ने गरी विसं २०७५ वैशाख १४ गते शिलान्यास गरिएको प्लान्टबाट साढे तीन वर्षपछि लक्ष्यअनुसार २५ मेगावाट विद्युतको परीक्षण उत्पादन भइरहेको आयोजना प्रमुख विकास रघुवंशीले जानकारी दिनुभयाे ।
उहाँका अनुसार विभिन्न सात ब्लकमा स्थापना गरिएका सौर्य प्लान्टबाट सुरु भएको परीक्षण उत्पादन सफल भएको छ । ‘प्लान्टबाट पछिल्लो दुई सातादेखि २५ मेगावाट विद्युत् उत्पादनको परीक्षण निरन्तर भइरहेकाले आयोजना सफल भएको छ,’ आयोजना प्रमुख रघुवंशीले भन्नुभयाे, ‘मौसम अनुकूल भएको समयमा लक्ष्यअनुसार २५ मेगावाटभन्दा केही बढी विद्युत् उत्पादन भइरहेको छ ।’ फार्मबाट उत्पादित विद्युत् विदुर नगरपालिका–६ स्थित देवीघाट जलविद्युत् केन्द्रमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । सौर्य प्लान्ट विदुर–६ र १२ मा पर्छ ।
विसं २०७४ जेठ ३ मा सम्झौता गरिएको आयोजनाको शिलान्यास विसं २०७५ वैशाख १४ मा गरिएको थियो । एक वर्षभित्र काम पूरा गर्ने लक्ष्य लिइएको भए पनि निर्माण व्यवसायीले ढिलो गरी तयार पारेको डिजाइन परामर्शदाता कम्पनीले पुनरवलोकन आवश्यक रहेको भन्दै स्वीकृत गर्न थप ढिलाइ गरेकाले प्लान्ट निर्माणको काम डेढ वर्ष पर धकेलिएको हो । निर्माण व्यवसायी चिनियाँ कम्पनी राइजन इनर्जीले विसं २०७६ कात्तिकदेखि काम सुरु गरेर पहिलो चरणमा विसं २०७७ माघमा १ दशमलव ५ मेगावाट विद्युत् उत्पादन गरेको थियो ।
आयोजनाको पूर्ण क्षमता (२५ मेगावाट) गत भदौ १० गतेदेखि थालिएको परीक्षण उत्पादन दुई सातासम्म नियमित भएसँगै सफल ठानिएको छ । सोलार आयोजनाबाट उत्पादित विद्युत् प्लान्टले आफैंले निर्माण गरेको ३३÷६६ केभी २५ एमभीए क्षमताको सब–स्टेशनबाट अपग्रेड गरेर १ सय मिटर दूरीमा अवस्थित देवीघाट विद्युत् गृहको सबस्टेशनसम्म भूमिगत प्रसारण लाइनमार्फत पुर्याएर त्यहाँबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।
आयोजना प्रमुख रघुवंशीका अनुसार सौर्य प्लान्टले बिहान ६ देखि साँझ ६ बजेसम्म विद्युत् उत्पादन गर्दछ । ‘सिधै प्रसारण प्रणालीमा पठाएकाले ब्याट्री राखेर विद्युत् सञ्चय गरिएको छैन,’ उहाँले भन्न्रभयाे, ‘मौसम सफा भए मध्याह्नको समयमा २५ दशमलव २ मेगावाटसम्म विद्युत् उत्पादन भइरहेको छ, परीक्षण अवधिमा दैनिक १ लाख युनिट विद्युत् उत्पादन भएकाले आयोजनाको निर्माण सफल मानिएको हो ।’
सौर्य प्यानलबाट उत्पादन हुने विद्युत् डिसी (डाइरेक्ट करेन्ट) बाट एसी (अल्टरनेट करेन्ट) मा रूपान्तरण गर्दा सोही परिणामको प्रयोगयुक्त विद्युत् उत्पादन भइरहेको छ । अब नियमित उत्पादन सुरु गरिने आयोजना पक्षले जनाएको छ । यद्यपि प्लान्टमा जडान गरिएका सौर्य प्यानल सफा गर्न चाहिने पानीपोखरी, संरक्षणका लागि लगाउनुपर्ने घेराबार र पर्खाललगायतका केही भौतिक संरचना निर्माणको काम जारी रहेकाले आयोजना सम्पन्न भएको जानकारी दिन अझै एक महिना लाग्ने निर्माण व्यावसायीले नेपाल विद्युत् प्राधिकरणलाई जनाएको छ ।
खेर गएको सौर्य ऊर्जा संकलन गरेर प्राधिकरणको खुला (प्रयोगविहीन) जग्गामा सञ्चालनमा ल्याइएको आयोजनामा गरिएको लगानी र विद्युत् उत्पादनलाई वैकल्पिक ऊर्जाका लागि देशकै ‘नमूना’ योजना रहेको प्राधिरकणको दाबी छ । प्लान्ट सञ्चालनमा आएपछि हिउँदको समयमा राष्ट्रिय प्रसारण प्रणालीमा हुने ऊर्जा अभाव कम गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।
काठमाडौंको नजिक दूरीमा पर्ने र यसका लागि छुट्टै प्रसारण प्रणाली बनाउन नपर्ने भएकाले पनि यसो आयोजना सम्पन्न हुँदा ऊर्जाको राष्ट्रिय योगदानमा महत्वपूर्ण मानिन्छ । भूकम्पलगायतका विपद्का कारण जलविद्युत् आयोजनामा क्षति पुग्न सक्ने भएकाले उक्त समयमा चाहिने ऊर्जाको वैकल्पिक स्रोतको उपभोग गर्न सौर्य प्लान्टको निर्माणलाई थप महत्वका रूपमा हेरिएको छ ।
हिउँदको समयमा प्लान्टबाट उत्पादन हुने विद्युत् उपयोग गरेर उक्त समयमा कुलेखानी जलाशययुक्तसहित कालीगण्डकी ‘ए’, मध्यमर्स्याङ्दी, मर्स्याङ्दी, चिलिमेलगायतका अर्ध–जलाशययुक्त उत्पादन गृहको पानी दिउँसो सञ्चित गरेर विद्युतको माग बढी हुने बिहान र बेलुका (पिकआवर) को समयमा सञ्चालन गर्न सहयोग पुग्नेछ । (रासस)
