तीज पर्व शुरुः आज दर खाने दिन

न्भेष्टाेपेपर । भाद्र ३१, २०८०

काठमाण्डाैँ । आज तीजको दर खाने दिन । दरखाने दिनसँगै तीज पर्व शुरु भएको छ । आजको दिन माइतीले चेलीबेटीलाई बोलाइ दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दूधबाट बनेका परिकार खाइन्छ ।

भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरुले आडिलो परिकार (दर) खाने परम्परा छ । राति १२ बजेपछि भाद्र शुक्ल चौथीका दिन बिहान गणेश पूजा गरी सूर्यलाई अर्घ्य दिएर मात्र खाने परम्परा छ ।

धार्मिक मान्यतानुसार सत्य युगमा पार्वतीले पनि भाद्र शुक्ल द्वितियाका दिन दर खाई तृतीयामा निराहार व्रत गर्दा महादेव स्वामी पाएको विश्वास छ। तीजको व्रत अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीज पर्व मनाउने चलन छ ।

दर खाँदा आफ्नो स्वास्थ्यको ख्याल गर्न विज्ञले सुझाव दिएका छन् । धेरै चिल्लो, पिरो, गुलियो र मसलेदार परिकार, दरका रुपमा खाँदा त्यसले स्वास्थ्यमा नराम्रो असर गर्ने भएकाले  त्यस्ता खानेकुरा सकेसम्म नखान पोषणविद् समीक्षा कार्कीले सुझाव दिनुभएको छ ।

दर खाँदा आफ्नो शरीरमा चाहिने मात्र खान, दरमा विभिन्न परिकारसँगै सलादको मात्रा अनिवार्य खान  र दरसँग जाँडरक्सी नखान उहाँले आग्रह गर्नुभएको छ । तिजमा खाइने दरमा खिर, तरकारी, मिठाइलगायत सधैँ खाइने परिकारभन्दा चिल्ला, पिरा, गुलिया र मसलेदार खानेकुरा धेरै समावेश गरिएको हुनाले त्यसले अपच तथा ग्यास्ट्रिकको समस्या हुन सक्ने उहाँले बताउनुभयो ।

अझ मधुमेहका बिरामीले यस्ता खानेकुरा खाँदा झनै सावधानी अपनाउनुपर्ने उहाँको भनाइ छ । पहिले मानिसहरुले धेरै परिश्रम गर्ने भएकाले चिल्लो, गुलियो धेरै खाँदा पनि त्यति स्वास्थ्य समस्या नहुने भए पनि  अहिले मानिसहरुले शारीरिक परिश्रम कम गर्दा र त्यस्ता खानेकुरा खाँदा स्वास्थ्यमा समस्या निम्तने गरेको उहाँको भनाइ छ ।

भोलिपल्ट बस्ने व्रतका लागि अघिल्लो दिन आडिलो खानेकुरा खाने निहुँमा त्यसले थप जटिलता नल्याओस् भन्नेमा सतर्कता अपनाउनुपर्ने उहाँको भनाइ छ ।

आज दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । भोलि तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन पर्सि गणेश भगवानकाे पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *