२७औँ फ्लोरा एक्स्पोमा १ करोड २२ लाखको कारोबार
इन्भेष्टाेपेपर । चैत्र ९, २०८२
काठमाडौँ । पुष्प व्यवसाय प्रवर्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पोमा १ करोड २२ लाखको आर्थिक कारोबार भएको छ ।
फ्लोरिकल्चर एसोसिएसन नेपालले भृकुटीमण्डपमा चैत ५ देखि सुरु भएको मेलामा आइतबारसम्ममा कुल ६० हजार ७ जनाले अवलोकन गरेका छन् । १ करोड २२ लाख ६० हजार बराबरको कारोबार भएको आयोजकले जनाएको छ ।
फ्यानका कोषाध्यक्ष राजकृष्ण बजगाईंका अनुसार पहिलो दिन ९ हजार ५ सयले अवलोकन गरेका थिए भने २१ लाख ५० हजार बराबरको कारोबार भएको थियो । दोस्रो दिन १७ हजार ५ सय दर्शकको सहभागितामा २९ लाख ५० हजार कारोबार भएको थियो ।
तेस्रो दिन २१ हजार ५ सय दर्शकले मेला अवलोकन गरेका थिए भने ३९ लाख ८० हजार बराबरको कारोबार भएको थियो । अन्तिम दिन आइतबार १२ हजार २ सयले मेला अवलोकन गर्दा ३१ लाख ८० हजार कारोबार भएको थियो ।
‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नारासहित चैत ५ गतेदेखि सुरु भएको मेला आइतबार सकिएको हो ।
मेलामा व्यावसायिक ६५, अफिसियल ११, प्रतिस्पर्धात्मक दुई, फुड दुई, ल्याण्डस्केप एक, सेल्फी एक तथा बीवाइडी ईभी कारसहित गरी कुल ८३ वटा स्टल रहेका थिए । प्रदर्शनीमा सहभागी व्यवसायीले उत्पादन गरेका फूल तथा बिरुवाहरू विभिन्न विधामा प्रतिस्पर्धामा समावेश गरिएको बजगाईंले जानकारी दिनुभयाे ।
हाल देशभर ५२ जिल्लामा २७० हेक्टर क्षेत्रफलमा फैलिएको पुष्प व्यवसायमा ८ अर्ब ८३ करोडभन्दा बढी लगानी रहेको र करिब ५३ हजार ५ सयभन्दा बढीले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी पाएको तथ्याङ्क छ ।
पछिल्लो समय विदेशी फूलको आयातमा भने उल्लेख्य गिरावट आएको छ । अघिल्लो वर्ष २७ करोड ७९ लाख बराबरको पुष्प तथा पुष्पजन्य वस्तु आयात भएकामा यस वर्ष ५४.२७ प्रतिशतले घटेर १२ करोड ७० लाखमा सीमित भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । निर्याततर्फ भने १०९.१६ प्रतिशतले वृद्धि भई २ करोड १३ लाख पुगेको छ ।
