धितोपत्र लगानीका जोखिम र फाइदाहरु

सामान्यतया कुनै पनि लगानी जोखिम मुक्त हुदैन । कुनै लगानीमा बढी जोखिम हुन्छ भने कुनैमा जोखिम कम हुन्छ । सैद्धान्तिक रुपमा बढी जोखिम बढी प्रतिफलको अपेक्षा गरिन्छ । तसर्थ लगानीकर्ताहरुले लगानी निर्णयको प्रारम्भिक कार्य अन्तर्गत आफ्नो लगानीको जोखिम र प्रतिफल विश्लेषण गर्नु जरुरी हुन्छ । यसले जोखिमलाई कम गरी प्रतिफल सुनिश्चित गर्न वा बढाउन सहयोग पुर्याउँछ । लगानी गर्दा जोखिम र प्रतिफल एक सिक्काका दुई पाटाको रुपमा बुझनुपर्दछ । लगानीकर्ताले आफ्नो जोखिमवहन गर्न सक्ने क्षमता अनुसार लगानी सम्बन्धी निर्णय लिनु पर्दछ । लगानीमा जोखिम वर्तमान र निश्चित हुन्छ भने प्रतिफल भविश्यमा प्राप्त हुने भएकोले अनिश्चित हुन्छ । धितोपत्रमा लगानी भन्नाले दीर्घकालीन अवधिका वित्तीय साधनहरु जस्तै शेयर (साधारण शेयर तथा अग्राधिकार शेयर), ऋणपत्र (बण्ड वा डिवेञ्चर) र सामूहिक लगानीमा गरिने लगानीलाई बुझिन्छ ।

क) धितोपत्रमा लगानीका जोखिमहरु

वित्तीय अर्थमा जोखिम वर्तमान समयमा लगानी निर्णय गरे वापत भविष्यमा प्राप्त गरिने प्रतिफलको अनिश्चितता वा उतार चढाव हो । कम उतारचढाव कम जोखिम र बढी उतारचढाव बढी जोखिम हुन्छ । धितोपत्रमा गरिने लगानी पनि जोखिममुक्त छैन । धितोपत्रको किसिम अनुसार जोखिम पनि कम वा बढी हुने गर्दछ । धितोपत्र अन्तर्गत ऋणपत्रमा गरिने लगानी कम जोखिम र शेयरमा गरिने लगानीलाई बढी जोखिमको रुपमा लिन सकिन्छ । अतः जोखिमको अध्ययन तथा विश्लेषण गरी आफनो लगानी गर्न सक्ने क्षमता, लगानी गर्ने अवधि र जोखिम वहन गर्न सक्ने क्षमताको मूल्यांकन गरी जोखिमको व्यवस्थापन गर्नु पर्दछ । लगानीकर्ताले लगानी निर्णय गर्नु अगाडि आफनो लगानीमा अन्र्तनिहीत जोखिम पहिचान गरी न्यूनीकरणका लागि विभिन्न उपायहरु अवलम्बन गर्नु राम्रो हुन्छ । जोखिमबाट बच्न लगानीकर्ताले लगानी विविधिकरण गर्नु उपयुक्त हुन्छ । धितोपत्रको लगानीका निहीत जोखिमहरु यस प्रकार रहेका छन्ः–

  • आर्थिक जोखिमः धितोपत्र लगानी अन्तर्गत लगानीकर्ताले आर्थिक जोखिम वहन गर्नु पर्ने हुन्छ । यस जोखिम अन्तर्गत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा आउन सक्ने आर्थिक उतारचढाव एंव घटनाले लगानीमा हुने प्रतिफल र पूँजीगत लाभमा पनि उतारचढाव हुन्छ ।
  • नीतिगत जोखिमः यो खासगरी सरकार तथा नियमन निकायहरुले समय समयमा अवलंवन गर्ने नीति, नियमका कारण उत्पन्न हुन सक्ने जोखिम हो । जसले सस्थाको कार्य सम्पादनमा असर पुर्याई खुद नाफामा उतार चढाव ल्याउन सक्दछ भने अर्कोतिर धितोपत्र दोस्रो बजारमा धितोपत्रको मुल्यमा समेत उतारचढाव ल्याउन सक्ने सम्भावना रहन्छ ।
  • राजनीतिक जोखिमः देश तथा विदेशमा हुने राजनीतिक परिवर्तन तथा घटनाले धितोपत्रको लगानीमा जोखिम उत्पन्न गर्दछ । लगानीकर्ताले लगानी निर्णय गर्दा राजनीतिक घटनालाई समेत ध्यान दिनु उपयुक्त हुन्छ ।
  • बजार जोखिमः धितोपत्रको माग र आपूर्तिमा उतारचढाव आई मूल्यगत जोखिम बजारमा उत्पन्न हुन्छ । जसलाई बजारद्वारा सिर्जित जोखिमको रुपमा लिन सकिन्छ । मूल्यगत उतारचढावको जोखिम बहन गरे वापत लगानीकर्ताले पूँजीगत लाभ वा नोक्सानी प्राप्त गर्न सक्दछ । बजारद्वारा सिर्जित मूल्यगत जोखिम विशेषगरी प्रिमियम जारी भएको शेयर र धितोपत्र बजारमा सूचीकृत भई दोस्रो बजारमा कारोवार हुने धितोपत्रहरुमा बढी हुने गर्दछ । दोलखामा क्ष्ँऋ को सहकार्यमा बोर्डले आयोजना गरेको लगानीकर्ता प्रशिक्षण कार्यक्रमका सहभागी ।

  • संचालन तथा व्यवस्थापकीय जोखिमः संगठित संस्थाको व्यवस्थापन पक्षको नीतिगत निर्णय तथा कार्य संचालनका कारण संस्थाको नाफा नोक्सान एवं धितोपत्र दोस्रो बजारमा धितोपत्रको मूल्यमा हुने उतारचढाव हुन गई लगानीकर्ताले जोखिम व्यहोर्नु पर्ने हुन सक्दछ ।
  • लगानीकर्ताको मनोवैज्ञानिक जोखिमः लगानीकर्ताको व्यक्तिगत लगानी व्यवहारबाट सिर्जना हुने जोखिमलाई लगानीकर्ताको मनोवैज्ञानिक जोखिम भनिन्छ । लगानीकर्ताले लगानी निर्णय गर्दा धितोपत्रको वास्तविक वित्तीय अवस्था, विगतको प्रतिफललाई विचार नगरी बजारमा हुने हल्ला, विभिन्न समाचार र अरुको लहैलहैमा लगानी गरियो भने सही निर्णय नहुन सक्दछ ।
  • तरलता जोखिमः वित्तीय बजारमा तरलताको उतार चढावले कर्जा तथा ब्याजदर जोखिम बढाउँदछ जसले धितोपत्रको लगानीमा असर गर्दछ । जव वित्तीय बजारमा तलरता अभाव देखिन्छ यसले कर्जा प्रवाहमा कमी ल्याउँछ भने अर्कोतिर ब्याजदरमा वृद्धि ल्याउँछ यसको विपरित तलरता प्रवाहमा वृद्धि हुँदा कर्जा प्रवाह बढ्छ र ब्याजदरमा कमी हुन्छ । यसरी तलरताको कारणले धितोपत्रको माग र आपूर्ति असर हुन गई दोस्रो बजारमा धितोपत्रको मुल्यमा उतार चढाव हुन जान्छ ।

साथै धितोपत्रको लगानीमा माथि उल्लिखित मुख्य जोखिमका साथै कर्जा जोखिम, ब्याजदर जोखिम, प्रविधिगत जोखिम, वातावरणीय परिवर्तन जोखिम समेत हुने गर्दछ । तसर्थ लगानीकर्ताले उल्लेखित जोखिमहरुको अध्ययन तथा विश्लेषण गरी लगानी निर्णय लिएको अवस्थामा जोखिमको उचित न्यूनीकरण गर्न सहज हुन गई वास्तविक प्रतिफल बढाउन सहयोग गर्दछ ।

ख) धितोपत्र लगानीका प्रतिफलहरु

लगानीको अर्को महत्वपूर्ण पक्ष प्रतिफल हो । प्रतिफल लगानीको जोखिम वहन गरे वापत प्राप्त गरिने पुरस्कार (नगद तथा पूँजीगत आय) हो । सम्पूर्ण लगानीकर्ताले आफुसँग भएको बचत रकमलाई भविश्यको प्रतिफलको आशाले वर्तमान समयमा लगानी निर्णय गरेका हुन्छन् । धितोपत्रमा गरिने लगानीबाट प्राप्त गरिने प्रतिफल धितोपत्रको किसिम अनुसार फरक फरक हुन्छ । धितोपत्र अन्तर्गत शेयरमा गरिने लगानीलाई बढी जोखिम र बढी प्रतिफल प्राप्त गर्न सकिने औजारको रुपमा लिइन्छ भने ऋणपत्र (वण्ड वा डिवेञ्चर) र म्यूचुअल फण्डमा गरिने लगानीलाई कम जोखिम र कम प्रतिफल प्राप्त गर्न सकिने औजारको रुपमा लिइन्छ । धितोपत्रमा लगानी गर्दा निम्न किसिमका प्रतिफल प्राप्त गर्न सकिन्छ ।

  • पूँजीगत लाभः लगानीकर्ताले प्राप्त गर्ने विभिन्न प्रतिफल मध्ये अर्को महत्वपूर्ण प्रतिफल हो । धितोपत्रमा धेरैजसो लगानीकर्ताले पूँजीगत लाभ प्राप्त गर्ने आशाले लगानी गरि बढी जोखिम वहन गरिएको हुन्छ । धितोपत्रको दोस्रो बजारमा धितोपत्रको मूल्यमा वृद्धि हुँदा बिक्रीबाट प्राप्त हुने अतिरिक्त लाभलाई पूँजीगत लाभ भनिन्छ ।
  • लाभांशः शेयरमा लगानी गरे वापत कम्पनीले प्राप्त गर्ने नाफाबाट शेयरधनीलाई प्रदान गर्ने अंशलाई जनाउँदछ । लाभांश लगानीकर्ताको आय हो । जुन कम्पनीले खूद नाफा प्राप्त गरेको अवस्थामा कम्पनीको साधारण सभाबाट निर्णय गरी शेयरधनीहरुलाई वितरण गरिन्छ । यस्तो लाभांश दर पूर्व निर्धारित हुँदैन तसर्थ शेयरमा गरिने लगानीको प्रतिफल अनिश्चित हुन्छ । अर्थात कम्पनीको खूद नाफा बढी भएमा बढी दरमा लाभाश प्राप्त गर्न सकिने सम्भावना रहन्छ भने खूद नाफा कम भएमा कम लाभांश प्राप्त हुन्छ । लाभांश नगद र बोनसका रुपमा शेयर वितरण गर्ने गरिन्छ ।
  • ब्याजः धितोपत्र अन्तर्गत ऋणपत्रमा गरिने लगानीबाट तोकिएको निश्चित दरमा प्राप्त हुने आय वा प्रतिफललाई ब्याज भनिन्छ । जुन ब्याज दर लगानी गर्दा कै समय निश्चित भएको र अनिवार्य भुक्तानी गर्नुपर्ने हुन्छ । शेयरधनीले लाभांश प्राप्त गर्नु अगावै तोकिएको निश्चित दरमा ऋणपत्रमा लगानी गर्ने लगानीकर्तालाई ब्याज प्रदान गरिन्छ । लगानीकर्ताले ब्याज तथा साँवा रकम निश्चित समयमा तोकिएको दरमा प्राप्त गने भएका कारण यसलाई कम जोखिमयुक्त लगानीको रुपमा हेरिन्छ । ऋणपत्र निष्काशन गर्ने संगठित संस्थाले तोकिए वमोजिम वार्षिक वा अर्धवार्षिक रुपमा ब्याजदर भुक्तानी गर्ने प्रतिवद्धता गरेका हुन्छन् ।

अन्त्यमा, धितोपत्रमा गरिने लगानीमा जोखिम र प्रतिफल दुवै रहने हुँदा यस बजारमा लगानी गर्ने लगानीकर्ताहरुले सुसूचित एवं विश्लेषणात्मकरुपमा धितोपत्रमा लगानी गर्ने अभ्यास गरेमा आफ्नो लगानीको प्रतिफल प्राप्त गर्न सक्ने अवस्था रहन्छ् ।

गणेश श्रेष्ठ

सहायक निर्देशक , सेबन

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *