सात सय ३५ स्थानीय तहमा फोरजी सेवा

इन्भेष्टाेपेपर ।  भाद्र ८, २०७९

काठमाण्डाैँ । देशभर सूचना प्रविधिको गुणस्तरीय विकास गर्न दूरसञ्चार पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ । हाल देशका सात सय ५३ स्थानीय तहमध्ये सात सय ३५ स्थानीय तहमा चौथो पुस्ताको इन्टरनेट ‘फोरजी’ सेवा विस्तार भएको सञ्चारमन्त्री कार्कीले जानकारी दिनुभयो ।

मन्त्रालयको प्रगति पुस्तिकाअनुसार गत आर्थिक वर्षमा एक हजार छ सय ४२ किमी अप्टिकल फाइबर विस्तार भई हालसम्म जम्मा १२ हजार दुई सय २४ किलोमिटर विस्तार भएको छ । यसले देशभर इन्टरनेट सेवा उपलब्ध गराउन मद्दत पुगेको मन्त्री कार्कीले बताउनुभयो । दार्चुला जिल्लाको झामरुङमा नेपाल टेलिकमले टेलिफोन सेवा उपलब्ध गराई सेवा सुरु गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा भएको तीव्र विकासले आधुनिक विश्व नै एक गाउँमा परिणत भइसकेको छ । सूचना प्रविधिले मानव जीवनका हरेक क्षेत्रमा सकारात्मक प्रभाव पारेको छ । विशेषगरी आर्थिक, सामाजिक, शैक्षिकलगायत क्षेत्रमा इन्टरनेट सेवाको पहुँच र प्रयोग बढेसँगै मानवसभ्यताको बहुआयामिक विकासको एक अभिन्न अङ्ग बनिसकेको सञ्चारमन्त्री कार्कीले उल्लेख गर्नुभयो । उहाँले सञ्चार मन्त्रालयका कार्यक्रम आमसञ्चारको सुदृढीकरण, सूचना प्रविधिको विकास, विस्तार र उपयोग एवं हुलाक सेवा समयानुकूल सुधारका लागि लक्षित भएको बताउनुभयो ।

विसं २१०० सम्ममा नेपाललाई उच्च आय भएको मुलुकमा पुर्याई समुन्नत नेपाल निर्माण गर्ने राष्ट्रिय लक्ष्य हासिल गर्न सहयोग पुर्याउने गरी सूचना प्रविधिको क्षेत्रमा विकसित नवीन प्रविधिको अधिकतम उपयोग गर्दै आर्थिक समृद्धि हासिल गर्ने मन्त्रालयको दीर्घकालीन सोचअन्तर्गत आमसञ्चार, दूरसञ्चार, सूचना प्रविधि, हुलाक सेवा, सुरक्षण मुद्रण र चलचित्र जस्ता छ महत्वपूर्ण लक्ष्य निर्धारण गरिएको मन्त्री कार्कीले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७८/०७९ मा सञ्चार मन्त्रालय र सम्बद्ध निकायबाट नीतिगत, कानूनी, दूरसञ्चार, सूचना प्रविधि, आमसञ्चार, हुलाक सेवा, चलचित्र र मुद्रण क्षेत्रमा भएका प्रमुख उपलब्धिहरुलाई पुस्तिकामा समावेश गरिएको छ । नतिजामूलक कार्यसम्पादनलाई जोड दिँदै सम्बन्धित पदाधिकारीलाई जिम्मेवार बनाउन वार्षिक नीति तथा कार्यक्रम एवं बजेट कार्यक्रको एकीकृत कार्ययोजना प्रकाशन गरी सोको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित पदाधिकारीसँग कार्यसम्पादन गरिएको तथा सोको सूचकसहित वस्तुगत मूल्याङ्कन गर्ने प्रणालीको विकास गरिएको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *