क्लियरिङ्ग हाउसको साधारणसभा सम्पन्नः कुन कुन प्रस्ताव पारित भए ?
Investopaper, कार्तिक २६, २०७६
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकाे आठाैं वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । उक्त सभाले गत वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्न प्रस्तावित ४० प्रतिशत लाभांश पारित भएको छ। जसमध्ये ३८ प्रतिशत बोनस र २ प्रतिशत नगद गरि ४० प्रतिशत लाभांश अनुमोदन गरेको हो।
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडमा नेपाल राष्ट्र बैंक (१०%), बैंक तथा वित्तीय संस्थाहरु (८०%) र स्मार्ट च्वाइस टेक्नोलोजिज् प्रा.लि. को (१०%) को शेयर हिस्सा छ । यस कम्पनीले आफ्नो अधिकृत पूँजी वृद्धि गरी ५० करोड रुपैयाँ पुर्याउने प्रस्ताव समेत पारित भएको छ।
कम्पनीले पूँजी वृद्धि गरी भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु ल्याउने तथा जोखिम व्यवस्थापना सुढृढ बनाउने योजना बनाएको छ ।
चुक्ता पूँजी २१ करोड ६ लाख रुपैयाँ रहेको कम्पनीको बोनसपछि पूँजी २९ करोड ८ लाख पुगेको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा २३ करोड ७७ लाख ३५ हजार खुद नाफा कमाएको थियो ।
हाल ८० सदस्य बैंक तथा वित्तीय संस्थाहरुका ५ हजार बढी शाखाहरुबाट कम्पनीले आफ्ना सेवाहरु प्रदान गरिरहेको छ । कम्पनीले आफ्नो भुक्तानी प्रणालीहरु मार्फत आ.व. २०७५/७६ मा कुल ९२ खर्ब बराबरको भुक्तानी कारोबारहरु राफसाफ गरेको थियो।
