इथियोपिया दुर्घटनाः विभिन्न देशले गरे बोइङ ७३७ म्याक्स–८ मार्फत हुने उडान स्थगन
Investopaper, फाल्गुन २९, २०७५
इथियोपियामा दुर्घटनामा परेसँगै चीन, सिंगापुर, बेलायत, अस्टे्लिया, दक्षिण कोरिया, इन्डोनेसिया, मेक्सिको, ब्राजिल र इथियोपिया लगायतका ९ देशले बोइङ ७३७ म्याक्स उडाउन रोक लगाएका छन ।
बोइङ ७३७ म्याक्स ८ मोडेलको विमान इथियोपियामा दुर्घटनामा परेसँगै विभिन्न देश तथा एयरलाइन्सले यसको उडान रोकेका छन् । सिंगापुर, अस्टे्लिया, बेलायत र दक्षिण कोरियाले मंगलबार बोइङ ७३७ म्याक्स विमानमार्फत हुने सम्पूर्ण उडान स्थगन गरेका छन् ।
सिंगापुर, अस्ट्रेलिया, बेलायत र दक्षिण कोरियाले मंगलबार बोइङ ७३७ म्याक्स विमानमार्फत हुने सम्पूर्ण उडान स्थगन गरेका छन् । सिंगापुरको उडड्यन प्राधिकरणका अनुसार पछिल्लो निर्णयसँगै सिल्क एयर, चाइना साउदर्न एयरलाइन्स, गरुडा इन्डोनेसिया, सानडोङ र थाई लायन एयरका उडान प्रभावित भएका छन् ।
एसियाली देशका उडानलाई युरोप र अमेरिका जोड्ने सिंगापुरको चांगी विश्वकै छैटौं व्यस्त विमानस्थल हो । सिंगापुरको निर्णयलगत्तै अस्ट्रेलिया र दक्षिण कोरियाले बोइङ म्याक्स विमानलाई आफ्नो भूमिमा अवतरणका लागि रोक लगाएका छन् ।
अस्ट्रेलियाको नागरिक उड्डयन सुरक्षा प्राधिकरणले आफ्नो देशमा अवतरण हुने बोइङ म्याक्सको तालिका स्थगित गरेको छ । त्यसैगरी भारतको जेट एयरवेज, मेक्सिको तथा ब्राजिलले पनि विमानको सुरक्षाको प्रत्याभूति नभएसम्म उडान रोक्ने जनँएका छन् ।
यसअघि चीन तथा इन्डोनेसियाले सोमबार नै तत्कालका लागि उक्त विमान सञ्चालनमा रोक लगाइएको जनाएका थिए । इन्डोनेसियाले बोइङ ७३७ म्याक्सका सबै मोडलका जहाज थन्काएको छ भने भियतनामले आइतबारको दुर्घटनाको कारण पत्ता नलागेसम्म जेट विमान उडाउन अनुमति नदिने जनाएको छ ।
इथियोपियन एयर विमान दुर्घटनासँगै बोइङको सेयरमा मंगलबार १३.५ प्रतिशतले गिरावट आएको छ । समाचार संस्था रोयटर्सका अनुसार बिक्री भएका बोइङ ७३७ म्याक्समध्ये करिब ४० प्रतिशतले उडान स्थगन गरेका छन् ।
चीनको हवाई नियमन निकायले आन्तरिक एयरलाइन्स कम्पनीहरूलाई बोइङ ७३७ म्याक्स ८ मोडेलका विमानको व्यापारिक तथा व्यावसायिक उडान रोक्न सोमबार नै निर्देशन दिएको छ । त्यसलगत्तै ९७ बोइङ चीनका विभिन्न विमानस्थलका ह्यांगरमा छन् ।
चीनको नागरिक उड्डयन प्रशासनले अर्को आदेश नहुँदासम्म सबै ७३७ म्याक्स ८ मोडेलका विमान नउडाउन निर्देशन दिएको हो ।
प्रशासनद्वारा जारी विज्ञप्तिमा ‘उडान सुरक्षामा भरपर्दो सुनिश्चितता भएपछि मात्र उडान पुनः शुभारम्भ हुने’ उल्लेख छ ।
विज्ञप्तिमा यसबारे अमेरिकी संघीय नागरिक उड्डयन प्रशासन र बोइङसँग परामर्श गरिने जनाइएको छ । अमेरिकी अधिकारीले भने पछिल्लो घटनाबारे अनुसन्धान जारी रहेको भन्दै चीनले कुन सूचनाका आधारमा त्यस्तो निर्णय लिएको हो भन्ने प्रश्न गरेका छन् ।
बोइङ र कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइना (कोमाक) ले चीनको झाउसानमा स्थापना गरेको प्लान्टमा ७३७ म्याक्स विमानको भित्री साजसज्जा गर्ने गरिएको छ । कारखानाबाट गत डिसेम्बरमा एयर चाइनाका लागि ७३७ म्याक्स जहाज बिक्री गरिएको थियो । विमान अमेरिकाको वासिङ्टनको रेन्टोनमा एसेम्बल गरिन्छ र भित्री साजसज्जाका लागि झाउसान ल्याउने गरिन्छ । याे समाचार अाजकाे कान्तिपुरमा छ ।
