संशोधनका नाममा संविधान उल्टाउने खेल भइरहेको छ : अध्यक्ष दाहाल

न्भेष्टाेपेपर ।  फागुन १७, २०८१

सिरहा । माओवादीका अध्यक्ष पुष्पकमल दाहालले जनताको बलिदानबाट प्राप्त संविधान संशोधनका नाममा उल्टाउने खेल भइरहेको आरोप लगाउनु भएकाे छ ।

जनतासँग माओवादी तराई–मधेश जनजागरण अभियानअन्तर्गत शुक्रबार सिरहा सदरमुकाममा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले दस वर्षे जनयुद्धको जग र जनआन्दोलनबाट प्राप्त संविधान उल्टाउने प्रयास सफल हुन नदिइने बताउनुभयाे । ‘अहिले सरकारमा रहेका दलहरु नै संविधान संशोधनको कुरा गरेर नेपाली जनताको अधिकार संकुचित गर्ने, दुई दलीय व्यवस्था कायम गर्नेतर्फ लागेका छन् । जनताको बलिदानबाट प्राप्त यो संविधान उल्टाउने खेल हामी सफल हुन दिन्नौँ,’ अध्यक्ष दाहालले भन्नुभयाे ।

उहाँले विगतका कमजोरी सच्याएर मधेशी जनतासँग पुनः गहिरो सम्बन्ध कायम गर्न आफूहरूले हुलाकी अभियान सुरु गरेको बताउनुभयाे । मधेसी जनताको पक्षमा र मधेसी जनताको आत्मसम्मानका लागि आफ्नो पार्टी सधैँ प्रतिबद्ध रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले माओवादीले जनयुद्धकै क्रममा मधेशी जनताको अधिकार स्थापित गर्न मधेशी सरकार गठन र पार्टीभित्र मधेशी राष्ट्रिय मुक्ति मोर्चा गठन गरिएको स्मरण गराउनुभयाे ।

पूर्वप्रधानमन्त्री दाहालले जीर्ण अवस्थामा रहेको हुलाकी राजमार्ग पुनःनिर्माणबारे चर्चा गर्दै आफू पहिलो पटक प्रधानमन्त्री बन्दा भारतसँग कुरा गरेर हुलाकीमार्ग निर्माणको प्रक्रिया अगाडि बढाएको जिकिर गर्नुभयाे। यस्तै, चोहर्वा–सिरहा, सिरहा–कल्याणपुर–मिर्चैया सडक निर्माण, माडर भन्सारको स्तरोन्नतिका लागि निरन्तर प्रयास गर्ने उनको प्रतिबद्धता थियो । ‘यसका साथै हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको भत्केको पुल निर्माण प्रक्रिया तुरुन्त अगाडि बढाउन पार्टीका तर्फबाट साथ सहयोग रहन्छ । यसक लागि पहल गर्छौं,’ दाहालले भन्नुभयाे ।

कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव, माओवादी पार्टीका उप–महासचिव मातृकाप्रसाद यादव, स्थायी समिति सदस्य विश्वनाथ साहलगायतले सम्बोधन गर्नुभएकाे थियाे । जिल्ला इन्चार्ज अजयशंकर नायकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन केन्द्रीय सदस्य जगतप्रसाद यादवले गर्नुभएकाे थियाे ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *