झिनियाँबाटै हुन्छ मनग्ये आम्दानी

इन्भेष्टाेपेपर ।  कार्तिक ७, २०७९

रेसुङ्गा । उहाँ बिहान ३ बजे नै उठ्नुहुन्छ । त्यसपछि चामलको पिठो पकाउन सुरू गर्नुहुन्छ । पटकपटक गरेर पकाएको चामलको पिठो झिनियाँ रोटी बनाउनको लागि मेसिनमा राख्न तयार हुन्छ । त्यसपछि दिउँसो ३ बजेसम्म मेसिन हातले चलाएरै झिनियाँ रोटी तयार गर्नुहुन्छ । गुल्मीको मुसीकोट नगरपालिका–७ वामीटक्सारकी बिष्णुमती श्रेष्ठको पछिल्लो दैनिकी हो यो । विशेष गरेर दसैँ र तिहारमा अत्यधिक बिक्री हुने झिनियाँ रोटी आफूहरूले वर्षभरि नै बनाउने गरेको ४३ वर्षीय श्रेष्ठले बताउनुभयो ।

आफूहरूको मुख्य पेशा नै झिनियाँ रोटी बनाउने रहेको उहाँको भनाइ छ । “हामीले वर्षभर झिनियाँ रोटी बनाएर चाडपर्वहरूमा बिक्री गर्दछौँ”, उहाँले भन्नुभयो, “दैनिक दुई सय दर्जन झिनियाँ बनाउँदा पनि बजारको माग धान्न सकेका छैनौँ ।” झिनियाँ रोटीबाट आफ्नै घरमा बसेर पनि मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण विष्णुमतीले प्रस्तुत गर्नुभएको छ । आफूले यस वर्ष मात्र झण्डै १० लाख रुपैयाँको झिनियाँ रोटी बिक्री गरेको विष्णुमतीले बताउनुभयो । “दसैँ र तिहारको समयमा यस वर्ष आठ लाख रुपैयाँको झिनियाँ बिक्री भयो, अघिपछिका मेलापर्वमा रु दुई लाख बराबरको हुने गर्दछ’’ उहाँले भन्नुभयो, “वर्षभरको मेहनत र परिश्रमसहित रु नौ लाख बचत हुन्छ ।” सामान्य लगानीसहित अत्यधिक मेहनत र परिश्रमले धेरै आम्दानी हुने बिष्णुमतीको भनाइ छ । उहाँले झिनियाँ रोटी घरबाटै फुटकर एक सय रुपैयाँ दर्जन र होलसेल ९० रुपैयाँ दर्जनमा बिक्री गर्नुहुन्छ । झिनियाँ रोटी विष्णुमतीले बनाए मात्र पुग्छ । उहाँलाई बजार र बजारीकरणको कुनै समस्या छैन ।

जति उत्पादन गरे पनि बजारको लागि पुगेको छैन । चाडपर्वको बेला विष्णुमतीलाई फोन उठाउन भ्याइनभ्याइ हुने गर्दछ । “झिनियाँ रोटीको लागि टाढाटाढाबाट फोनहरू आइरहेका हुन्छन्’’ बिष्णुमतीले भन्नुभयो, “सकेसम्म मागअनुसार झिनियाँ रोटी पठाउँछु, उहाँहरुले मेरो खातामा पैसा पठाइदिनु हुन्छ ।” उहाँले अहिलेसम्म गुल्मी, बाग्लुङ्ग, रूपन्देही, अर्घाखाँची, कास्की र मुस्ताङसम्म झिनियाँ रोटी पठाउनुभएको छ । अन्य जिल्लाबाट पनि फोन आइरहने गरे पनि झिनियाँ रोटी पु¥याउन नसकेको उहाँको भनाइ छ । झिनियाँ रोटी बनाउने काममा विष्णुमतीलाई सङ्गीता रानाले पनि सघाइरहनुभएको छ । फोनबाटै सहजरूपका व्यापार भएपछि झिनियाँ रोटी बनाउन प्रोत्साहित भएको विष्णुमतीको भनाइ छ । झिनियाँ रोटी बनाउने आफूहरूको पुख्र्यौंली पेशा भएको विष्णुमतीकी ८८ वर्षीया आमा चम्पाकुमारी श्रेष्ठले बताउनुभयो । आफूहरूले पनि सामान्य झिनियाँ रोटीको व्यापारबाट जीविकोपार्जन गरेको चम्पाकुमारीले सम्झनुभयो । आमाको देखासिकीबाट छोरी विष्णुमतीले १२ वर्षयता झिनियाँ रोटीलाई व्यावसायिकरूपमा अगाडि बढाउनुभएको छ । यसको आम्दानीले घरखर्च गर्न सहज भएको उहाँ बताउनुहुन्छ । झिनियाँ व्यवसायी विष्णुमतीलाई धेरै ठाउँबाट तालिमको प्रशिक्षकका रुपमा आइदिन अनुरोध हुने गर्दछ ।

गुल्मीसहित अन्य जिल्लाका उद्योग कार्यालय र स्थानीय तहले तालिमको लागि बोलाउने गरेको उहाँले बताउनुभयो । “तालिममा प्रशिक्षकका लागि माग आइरहेकै हुन्छ”, विष्णुमतीले भन्नुभयो, “घरमा झिनियाँ बनाउन व्यस्त भएका कारण धेरै ठाउँमा त जान भ्याएकी छैन ।” अबका दिन झिनियाँ रोटी बनाउने तालिमको लागि आफू जानेसमेत उहाँले बताउनुभएको छ । झिनियाँ रोटी बनाउन मिहेनत र परिश्रम बढी लाग्ने गरे पनि थोरै आर्थिक लगानीबाट पनि गर्न सकिने उहाँले बताउनुभयो । “झिनियाँको व्यवसाय गर्नका लागि केही गर्नु पर्दैन, मिहेनत र परिश्रम भए पुग्छ”, उहाँले भन्नुभयो, “एउटा हाते मेसिन किनेपछि सुरू गरिहाल्न सकिन्छ ।” मेसिन पनि मात्रै १२ देखि १५ हजार रूपैयाँमा खरिद गर्न सकिने उहाँले जानकारी दिनुभयो । आफूले १२ हजार रूपैयाँमा खरिद गरेको मेसिन १२ वर्षसम्म निरन्तर चलिरहेको विष्णुमतीले सुनाउनुभयो । विष्णुमती मात्र होइन, वामिटक्सारका केही स्थानीयहरू पछिल्लो समय झिनियाँ व्यवसायमा आकर्षित भएका छन् ।

स्थानीयवासी अमृतलाल प्रधानले यही झिनियाँ व्यवसायबाटै वार्षिक रु तीन लाखसम्म कमाउनुहुन्छ । उहाँले तिहारको लागि मात्र झिनियाँ बनाउने गर्नुहुन्छ । श्रीमती ज्ञानु प्रधानसँगै अमृतलालले यो समयमा बिहादेखि साँझसम्म झिनियाँ तयार गर्नुहुन्छ । उहाँको बजारीकरण बाग्लुङ्गको गलकोटमा हुनेगर्दछ । त्यस्तै अर्का स्थानीयवासी स्थानीवासी पार्वती श्रेष्ठले पनि १० वर्षदेखि तिहार लक्षित झिनियाँ व्यवसाय गरिरहनुभएको छ । उहाँले वार्षिक ५० देखि ६० हजार रुपैयाँसम्म आम्दानी गर्नुहुन्छ । आफ्नो जीविकोवार्जनका लागि पुग्ने गरेर झिनियाँको व्यवसाय गरेको पार्वतीले बताउनुभयो । नेवारी भाषामा झिनियाँ रोटीलाई कसिनकमारी पनि भनिन्छ ।

झिनियाँ रोटी विशेषगरी दसैँ र तिहारमा धेरै बिक्री हुने गर्दछ । झिनियाँ रोटीको व्यवसायमा धेरै जना आकर्षित भएमात्र बजारको माग पु¥याउन सकिने बिष्णुमतीले बताउनुभयो । थोरै लगानी, बढी मिहेनत र परिश्रम, कुनै सरकारी निकायको भर नपर्नुपर्ने, बजारीकरणको कुनै समस्या नभएको, घरमै बसेर गर्न सकिने र मनग्ये आम्दानी हुने भएकाले धेरैले व्यावसायिकरुपमा गर्न सक्ने अवसर रहेको उहाँको भनाइ छ । झिनियाँ रोटी बनाउन चामललाई पिसेर बनाएको पिठोलाई पानीमा पकाउनुपर्छ ।

 पिठो पकाउने समयमा कुन रङको बनाउने हो, त्यही रङ प्रयोग गर्न सकिन्छ । पिठो पाकेर ठोसको रूपको तयार भएपछि त्यसलाई सानो सानो दानाको रूपमा तयार गरी हाते मेसिनमा राख्ने र त्यसपछि मेसिनलाई एउटा हातले चलाउने अर्को हातले मेसिन तल एकपटकमा ३० वटासम्म झिनियाँ बन्छ । झिनियाँलाई कम्तीमा तीन घण्टा घाममा सुकाएपछि झिनियाँ तयार हुन्छ । झिनियाँलाई तेलमा फुराएर मात्र प्रयोग गरिन्छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *