वीर पुरुषहरुको सम्झनामा सिरानचोकमा स्मारक बन्दै

इन्भेष्टोपेपर । पुष १, २०७८

गोरखा ।  धार्मिक तथा ऐतिहासिक श्रीनाथ मण्डली पार्क एवं अन्य संरचना निर्माण हुने भएका छन् । सिरानचोक गाउँपालिकाले सिराचोक स्मारक पार्क एवं श्रीनाथ मण्डली मन्दिर परिषद्मा विभिन्न संरचना निर्माण गर्न लागेको हो ।

‘ऐतिहासिक एवं धार्मिक धरोहर श्रीनाथकोट मण्डलीलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न विभिन्न कार्यक्रम गरिरहेका छौं,’ गाउँपालिका अध्यक्ष राजु गुरुङले भन्नुभयो, ‘सोही अनुरुप पार्क एवं अन्य संरचना निर्माण गर्न लागिएको हो ।’ जेठाकोट नजिकै सिरानचोक स्मारक पार्क र मन्दिर परिसर स्वागतद्धार, बौद्ध स्तुपा र बगैचा निर्माण गर्न लागिएको उक्त गाउँपालिकाका इन्जिनियर सुदिप बरालले जानकारी दिनुभयो ।

मन्दिर परिसरको करिब दुई रोपनी क्षेत्रफलमा ती संरचनाहरु निर्माण गरिनेछ । त्यसका लागि ५२ लाख ६८ हजार ७८ रुपैयाँ ६० पैसा बजेट विनियोजन गरिएको छ । यसैगरी, जेठाकोट नजिकैको करिब डेढ रोपनी क्षेत्रफलमा सिराचोक स्मारक पार्क निर्माण हुनेछ । ३३ लाख ३५ हजार ४८८ रुपैयाँ ८० पैसामा पार्क निर्माण गर्ने गरी हरमटारी कन्ट्रसनसँग सम्झौता भएको उहाँले बताउनुभयो ।

सँगै पुरातात्विक महत्व झल्किने खालको एउटा भवन समेत निर्माण हुनेछ । पछि त्यसलाई संग्राहालयको रुपमा विकास योजना रहेको गाउँपालिकाले जनाएको छ । पार्कमा सिरानचोकका गाउँपालिका भित्रका विशिष्ठ ५ जना व्यक्तिहरुको नाममा स्मारक स्तम्भ राखिनेछ ।

‘स्तम्भका ५ वटा पाटा हुन्छन्,’ गाउँपालिका अध्यक्ष गुरुङले भन्नुभयो, ‘हरेक पाटामा वीर पूरुषहरुको बारेमा लेखिएको हुन्छ ।’ सिरानचोक किल्लाको रक्षक उमराउ बाघ भीमसेन थापा, राष्ट्रिय विभूति अम्बरसिंह थापा, पृथ्वीनाराण शाहका वीर सेना झागल गुरुङ, द्रव्य शाहको सेना प्रमुख गणेश पाण्डे र पण्डित नारायण अज्र्यालको इतिहास उक्त स्तम्भमा लेखिने उहाँले बताउनुभयो ।

‘नेपाल राज्यको एकीकरणमा महत्वपूर्ण योगदान पु¥याएका व्यक्तिहरु जसको इतिहास सिरानचोकसँग जोडिएको छ । उहाँहरुको सम्मानमा यो स्तम्भ बनाउन लागेका हौं,’ उहाँले भन्नुभयो, ‘यो वीरवीरङगनाप्रतिको सम्मान हो, यसले इतिहासको जर्गेना गर्छ भन्ने हाम्रो विश्वास छ ।’

श्रीनाथ मण्डली ऐतिहासिक धार्मिक, एवं पुरातात्विक महत्व बोकको ठाउँ हो । तत्कालिन राजा द्रब्य शाह १६१६ मा लिगलिगकोटको राजा भएपछि सिरानचोक हुँदै गोरखा सम्म राज्यविस्तार गरेको इतिहास छ । तर सिरानचोक गढीलाई गोरखा राज्यका रक्षक किल्लाको रुपमा विकास गर्दै राज्य बिस्तारको काम अघि बढाइएको थियो ।

पश्चिम नेपालको एकिकरण सम्पन्न नहुँदासम्म करिब २२२ वर्ष रणनैतिक किल्लाको रुपमा सिरानचोक गढी प्रयोग गरिएको गाउँपालिका अध्यक्ष गुरुङको भनाइ छ । ‘यस्तो ऐतिहासिक ठाउँ अहिलेसम्म किताबमा मात्र सिमित छ, बाहिर प्रचारप्रचार हुन सकेको छैन,’ उहाँले भन्नुभयो, ‘यसको प्रवद्र्धनका लागि हामीले प्रयास थालेका छौं । अझै धेरै काम गर्न बाँकी छ ।’ नेपाल राज्य विस्तारका क्रममा तत्कालिन राजा पृथ्वीनारायण शाहले सोही क्षेत्रमा गएर सेनाको पहिलो गणको रुपमा श्रीनाथ गण स्थापना गरेको इतिहासमा उल्लेख छ ।

सिरानचोक कोटमा रहेको श्रीनाथ मण्डलीको धार्मिक महत्व पनि ठूलो छ । योगी नरहरी नाथ लेखेको स्कन्द पुराणमा गोरखनाथ बाबाको वाल्यकाय सोही क्षेत्रमा बितेको उल्लेख गरिएको उहाँले बताउनुभयो । अहिले कोटलाई घेराबार गरी संरक्षण गरिएको छ । त्यहाँ पुग्नका लागि दुई तर्फबाट सिढीबाटो समेत बनाइएको छ । ‘अहिले गरिएका सबै कार्यक्रम पहिलो चरणको हो,’ गाउँपालिका अध्यक्ष गुरुङले भन्नुभयो, ‘हामीले डिपिआर समेत तयार गरिसकेका छौं, छिटै दोश्रो फेजको काम सुरु हुन्छ ।’ कोटलाई संरक्षणको विषयमा नेपाली सेनासँग सम्झौता समेत गरिएको उहाँले बताउनुभयो ।

उक्त दुबै संरचनाको मंसिर १८ गते गाउँपालिका अध्यक्ष गुरुङले शिलान्यास गरिसक्नु भएको छ । यही आर्थिक वर्षभित्र पार्क एवं अन्य संरचना निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । ‘यो अघिल्लो वर्षको ठेक्का हो, पानी, विद्युत, चिसोका कारण गत वर्ष हामीले काम गर्न सकेनौं,’ इन्जिनियर बरालले भन्नुभयो, ‘यो वर्ष समयमै काम सुरु गरेर असार मसान्त भित्र सक्ने लक्ष्य छ ।’ याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित गरिएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *