घरभन्दा अग्ला युवक जसलाई देखेर स्वास्थ्यकर्मीहरू पनि छक्क पर्छन्
इन्भेष्टाेपेपर । पुष २१, २०७९
उत्तरी घानामा बस्ने एक युवक विश्वका सबैभन्दा अग्ला व्यक्ति हुनसक्छन तर गरिवी र पिछडिएकाे ठाउँमा भएकाले गनिज बुकमा रेकर्ड दर्ता भएकाे छैन ।
उत्तरी घानास्थित एउटा अस्पतालमा जचाउन जाँदा २९ वर्षीय सुलेमाना अब्दुल समेदलाई उनी साढे नौ फिट अग्लो भएको बताएकाे छ।
त्यो उचाइ विश्वकै सबैभन्दा अग्लो व्यक्तिको कीर्तिमानका लागि पर्याप्त थियो। तर ग्रामीण भेगमा रहेको क्लिनिकसँग उनको उचाइ नाप्न भरपर्दो उपकरण थिएन।
केही वर्षअघि ‘जाइग्यान्टिजम’ भनिने रोग लागेको थाहा पाएसँगै उनले प्रत्येक महिना चिकित्सकलाई जचाउँदै आएका छन्। त्यसै क्रममा उनको उचाइ मापन गर्न उनलाई एउटा स्केलअगाडि सीधा उभिन भनियो।
त्यसपछि छक्क पर्दै एक नर्सले भनिन्: “तपाईँ यो नाप गर्न राखिएको स्केलभन्दा अग्लो हुनुभएछ!” अउचे उपनामबाट चिनिने उनी आफ्ना कारण उत्पन्न परिस्थिति देखेर छक्क परे। काममा खटिएकी एक नर्सले सहकर्मीलाई बोलाइन्। तर उनीसँग पनि अर्का सहकर्मीलाई गुहार्नुबाहेक अरू उपाय थिएन।
त्यसपछि नर्स र स्वास्थ्य सहायकहरूको एउटा समूह अउचेको उचाइ कति हो भन्ने निधो गर्न भेला भयो। एक जनाले उक्त स्केलमाथि अर्को डन्डी राख्ने र त्यसलाई फेरि नाप्ने जुक्ति निकाले। यसरी उनीहरूले ती भीमकाय व्यक्तिको उचाइ नापे।
उनी अझै बढदै छन् र छरछिमेकमा रहेका अधिकांश घर उनीभन्दा होचा छन्। बजारमा उनलाई मिल्ने जुत्ता नपाइने हुँदा उनी गाडीको टायरबाट गाउँमै बनाइएको जुत्ता लगाउँछन्।
फेभर नुनू , बीबीसी न्यूज पिड्जिन, गाम्बागाका अनुसार “अउचेकाे उचाइ सात फिट चार इन्च देखिएको छ र “सबैभन्दा अग्ला जीवित व्यक्तिको कद आठ फिट २.८ इन्च छ। ती व्यक्ति उनीभन्दा झन्डै एक फुट अग्ला छन्।”
टर्कीमा बस्ने ४० वर्षीय सुल्तान त्यति अग्ला छन्। उनको यो कीर्तिमान गिनिज वर्ल्ड रेकर्डमा अभिलिखित छ।
“म अझै बढ्ने क्रममा छु। के थाहा म पनि कुनै दिन त्यति अग्लो हुन सक्छु,” अस्पतालले पहिला बताएको उनको कद नमिलेको भए पनि उनी उदास छैनन्।
“तीन-चार महिनामा मेरो कद बढेको हुन्छ…यदि तपाईँले मलाई तीन-चार महिना भेट्नुभएन र एकैपटक त्यसपछि देख्नुभयो भने मेरो कद बढेको थाहा पाउनुहुन्छ,” अउचेले भने।
राजधानी आक्रामा बस्दा आफ्नो कद धेरै बढेको उनले महसुस गर्न थालेका थिए। त्यतिबेला उनी २२ वर्षका थिए। माध्यमिक शिक्षा पूरा गरेपछि अउचे आफ्ना दाजुहरूसँग बस्न आक्रा गएका थिए।
उचाइ निरन्तर बढिरहँदा उनमा अरू समस्याहरू पनि देखा पर्न थाले। उनलाई उपचार चाहिन्छ भन्ने अनुभूति भयो।
यो कस्तो समस्या हो र उपचार के हो ?
उनको मेरुदण्ड अस्वाभाविक रूपमा बाङ्गिएको छ। उनी ‘मार्फन सिन्ड्रोम’ बाट पीडित छन्। यो एक प्रकारको आनुवंशिक समस्या हो र यसले शरीरको ‘कनेक्टिभ टिशू’ अर्थात् संयोजी तन्तुमा प्रभाव पार्छ।
यसले गर्दा खुट्टा अस्वाभाविक रूपमा लामो हुन्छ। यो समस्या गम्भीर बन्दा मुटु बिग्रिन पनि सक्छ। उनको शरीरमा भइरहेको वृद्धिलाई रोक्न मस्तिष्कको शल्यक्रिया आवश्यक रहेको चिकित्सकहरूले औँल्याएका छन्। तर घानाको स्वास्थ्य बीमाले उक्त उपचारका लागि लाग्ने खर्च धान्दैन।

अउचे बिहे गर्न र छोराछोरी पाउन चाहन्छन्। तर त्यसअघि पहिला आफ्नो स्वास्थ्य ठिक हुनुपर्छ भन्ने उनलाई थाहा छ। खुट्टा निकै लामो हुँदा उनी छालाको समस्याबाट पीडित भएका छन्। उपचार गर्न प्लास्टिक सर्जरी गर्नुपर्ने भएको छ। त्यसका लागि उनी पैसा जम्मा गर्ने विचारमा छन्।
पट्टी बाँधिएको खुट्टातिर हेर्दै उनी आफ्नो अवस्थाका कारण निराश हुन अस्वीकार गर्छन्। “ईश्वरले यस्तै गर्नुभयो, ठिकै छ। ईश्वरले मलाई सृष्टि गर्नुभएको तरिकामा मलाई आपत्ति छैन।”
— बीबीसीबाट
