तिते करेलाः खाँदा तितो तर स्वास्थ्यका लागि अति लाभदायक ! बेफाइदा पनि छन् कि ?
माघ २९, २०७६ | Investopaper
स्वास्थ्य रहन खानपानमा ध्यान दिन जरुरी छ् । अझ सन्तुलित भाेजनकाे लागि सबै प्रकार र स्वादका अर्ग्यानिक खानाकाे धेरै महत्व छ । कस्तो खानपान कुन व्यक्तिले सेवन गर्ने जस्ता कुराहरु थाहा पाउन जरुरी हुन्छ । जसले गर्दा स्वस्थ रहन सकिन्छ ।
हाम्रो वरिपरी धेरै प्रकारका तरकारीहरु रहेका छन् । सवैको भुमिका उत्तिकै रहेका छन् । तरकारीमा साग , आलु, भेन्टा ,फर्सी, काउली , बरेला, करेला आदि जस्ता तरकारीहरु बजारमा पाइन्छ भने गाउँ घरमा खेत बारीमा पाइन्छ ।
खाँदा तितो हुने करेला स्वास्थ्यका लागि अति लाभदायक छ । तरकारी वा अचार जे बनाएर खाए पनि तितेकरेलाले मानव स्वास्थ्यमा फाइदा नै गर्छ। यसमा उच्च मात्रामा आइरन, म्याग्नेसियम, भिटामिन, पोटासियम, भिटामिन सी, क्याल्सियम, बिटा क्यारोटिनजस्ता पौष्टिक तत्त्व पाइन्छन् ।
तिते करेलाको फाईदा मात्रै होइन वेफाईदा पनि छ। विभिन्न शारिरीक अवस्था र राेग अनुसार तिते करेलाले हानी पनि पुर्याउन सक्छ, तसर्थ जानकारी राख्नुका साथै विशेष अवस्थामा डाक्टरकाे सल्लाह लिनु बुद्धीमानी ठहर्छ ।
तिते करेलाकाे सेवनले स्वास्थ्यमा पुर्याउने फाईदाहरूः-
- शरीरमा कफ जम्मा भएमा करेला खाँदा त्यसबाट मुक्त हुन सकिन्छ। करेलामा पाइने फस्फोरसले शरीरको कफ निकास गर्न सहयोग पुर्याउँछ ।
- पाचनशक्ति बलियो बनाउने र भोक जगाउने काम करेलाले गर्छ ।
- करेला सेवनले भाइरस र ब्याक्टेरियाबाट हुने संक्रमणबाट बचाउनुका साथै प्रतिरोधी क्षमताको विकास गर्छ।
- गर्मी याममा करेला सेवन गर्नु लाभदायक हुन्छ जसले शितल बनाउछ ।
- दमको समस्या भएकाहरूले मसला नहालीकन पकाएको करेलाको तरकारी खानु राम्रो हुन्छ ।
- करेला खाएमा शरीरमा कोलेस्ट्रोलको मात्रा नियन्त्रण हुन्छ। जसले गर्दा हृदयाघात र पक्षाघातको जोखिम कम हुन्छ। पक्षघात भएकाहरूलाई काँचो करेला खुवाउँदा सुधारका संकेत देखा परेका उदाहरण पनि छन् ।
- बाथ रोग भएमा अथवा हातखुट्टा पोल्ने गरेमा काँचो करेलाको झोलले मालिस गरेमा फाइदा हुन्छ ।
- बान्ता, हैजा आदि भएमा करेलाको रसमा थोरै पानी र कालो नुन छरेर खाने गरेमा तुरुन्त लाभ मिल्छ ।
- तितेकरेलामा एन्टिअक्सिडेन्ट, भिटामिन ए र सीको मात्रा प्रशस्त पाइन्छ। जसले एजिङ र चाउरीपनाको समस्या कम गर्छ।
- कलेजोसम्बन्धी समस्या भएकाहरूका लागि पनि करेलाको तरकारी ज्यादै उपयोगी हुन्छ । जुसले कलेजो सफा राख्न मद्दत गर्छ ।
- डाइबिटिजका बिरामीहरूकाे लागि करेलाकाे सेवन निकै फलदायी मानिन्छ । तितेकलेलामा पाइने पी इन्सुलिन नामक तत्त्वले मधुमेह नियन्त्रण गर्न मद्दत गर्छ ।
- करेलाले व्लड प्रेसर घटाउन मद्दत गर्दछ तसर्थ अधिक व्लड प्रेसर हुनेका लागि लाभदायक हुन्छ भने न्यून प्रेसर हुनेले ख्याल गरेर सेवन गर्नु पर्दछ ।
- मोटोपन भएका मानिसका लागि तितेकरेला लाभदायी मानिन्छ । यसले क्यालोरी, बोसो र कार्बोहाइड्रेटको मात्रालाई कम गर्छ ।
कुन अवस्थामा तिते करेला सेवन नगर्ने (बेफाइदाहरू)
- तितेकरेलाको प्रयोगले पायल्सको समस्यालाई थप बल्झाउन मद्दत गर्छ ।
- तितेकरेलाको अत्यधिक प्रयोगले कलेजोमा एन्जाइम्स बढ्न थाल्छ, जसले इन्फेक्सनको सम्भावना बढाउँछ ।
- महिनावारीको समयमा यो खाएमा अत्यधिक रक्तश्राव हुन सक्छ । त्यसैले महिनावारीको समस्या हुनेहरू करेलाबाट टाढा रहन पर्छ ।
- बढी करेलाको सेवनले गर्भ तुहिनेसमेत डर हुन्छ । त्यसैले यस्तो अवस्थामा करेला खाँदा ध्यान पुर्याउन जरुरी हुन्छ ।
- रक्तअल्पता (एनिमिया) भएका र कमजोर व्यक्तिलाई भने तीतेकरेलाको नियमित सेवनले रिँगटा लाग्ने र अझ कमजोर हुने गरेको पाइन्छ ।
- तितेकरेलाको बियाँको घेरामा हुने तत्वले साना बालकहरूलाई असर गर्छ, यसको बढी सेवनले पेटदुख्ने र झाडा हुने सम्भावना हुन्छ ।