महान्यायाधिवक्तामा अधिवक्ता डा. पोखरेल सिफारिस
इन्भेष्टाेपेपर । पुष १३, २०७९
काठमाडौँ । अधिवक्ता डा. दिनमणि पोखरेल महान्यायाधिवक्ता नियुक्तिका लागि सिफारिस हुनुभएको छ ।
नेपाल सरकारको कानुनी सल्लाहकारका रुपमा नियुक्ति गर्नका लागि प्रधानमन्त्री कार्यालयले मंगलबार राष्ट्रपति समक्ष सिफारिस गरेको हो । नेपालको संविधानमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
अधिवक्ता डा. पोखरेलले भारतको दिल्ली विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर र नेदरल्याण्डबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । संवैधानिक र फौजदारी कानुनका जानकार अधिवक्ता पोखरेलले प्रतिलिपि अधिकारका विषयमा विद्यावारिधि गर्नुभएको छ ।
यसअघि, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा सरकारको कानुनी सल्लाहकार खम्बहादुर खाती हुनुहुन्थ्यो । उहाँले सोमबार पदबाट राजीनामा दिनुभएको थियो । (रासस)
