नेपाल र श्रीलंकामा अन्तरदेशीय भुक्तानी प्रणालीका लागि फोनपे र लंकापे बीच सम्झौता

न्भेष्टाेपेपर । जेठ १९, २०८०

काठमाडौँ । नेपालको सबैभन्दा ठूलो भुक्तानी नेटवर्क फोनपेले, नेपाल र श्रीलंकाबीच अन्तरआबद्धतायोग्य भुक्तानी प्रणाली विकासको लागि सहकार्य गर्न श्रीलंकाको राष्ट्रिय भुक्तानी नेटवर्क लंकापेसँग समझदारी पत्र (एम.ओ.यु.) मा हस्ताक्षर गरेको छ । यस किसिमको डिजिटल भुक्तानी प्रणालीले दुई राष्ट्रबीचका प्रयोगकर्ताहरूलाई निर्वाध रूपमा भुक्तानी कारोबार गर्न सम्भव बनाउँछ ।

फोनपेका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिवस कुमार सापकोटा र लंकापेका सिइओ चन्ना डि सिल्भाले समझदारी पत्र(एमओयु) मा हस्ताक्षर गरेका थिए । हस्ताक्षर कार्यक्रममा प्रमुख अतिथिको रूपमा काठमाडौंस्थित श्रीलंका दूतावासका चार्ज डे अफेयर्स तथा चान्सरि प्रमुख श्रीमती निलुषा दिलमिनीको विशेष उपस्थिति रहेको थियो भने एफवान सफ्ट ग्रुपका ग्रुप स्ट्राटेजि डिरेक्टर डेनियल डि। श्रेष्ठ र फोनपेका अध्यक्ष विश्वास ढकालको उपस्थिति रहेको थियो ।

यो सहकार्य दुई देशबीच भ्रमण गर्नेहरूको सहजताका लागि अत्यन्त प्रभावकारी हुनेछ । श्रीलंकाका नागरिकहरू नेपाल भ्रमण गर्दा लंकापेद्वारा अधिकृत मोबाइल एप प्रयोग गरी फोनपे नेटवर्कका विभिन्न मर्चेन्टहरूमा ‘क्यु आर’ भुक्तानी गर्न सक्नेछन् । त्यसैगरी, श्रीलंका जाने नेपाली नागरिकहरूले फोनपेद्वारा अधिकृत एपहरू प्रयोग गरी ‘क्यु आर’ भुक्तानी गर्न सक्नेछन् । यस पश्चात फोनपे वा लंकापे मध्ये जुनै पनि नेटवर्कको एप प्रयोग गरिरहेका पर्यटकहरूले यी दुई सञ्जालका मर्चेन्टहरूमा सरल र सुविधाजनक तरिकाले क्रसबोर्डर भुक्तानी गर्न सक्नेछन् ।

यस सहकार्यमा उत्साहित हुँदै फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटाले भन्नुभयो, “यो सहकार्य भनेको नयाँ अवसरहरू विस्तार गर्न, वित्तीय समावेशीकरण बढाउन र समृद्ध डिजिटल अर्थतन्त्र सिर्जना गर्न प्रविधिको प्रयोग गर्ने हाम्रो प्रतिबद्धताको प्रमाण हो । यो सहकार्यले, नवप्रवर्तन र अन्तरआबद्धताद्वारा राष्ट्रको आर्थिक वृद्धिलाई नयाँ उचाइमा पुग्नको लागि मद्दत पुर्याउने छ । यो साझेदारी हाम्रो लागि निकै महत्त्वपूर्ण छ । हामीले नेपालमा मात्र नभई हाम्रो सबैभन्दा नजिकको दक्षिण एसियाली देश श्रीलंकामा पनि क्रसबोर्डर डिजिटल भुक्तानीलाई छिटो, सुरक्षित र सजिलो बनाउन मद्दत गर्नेछौं ।”

समझदारी पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै, लंकापेका प्रमुख कार्यकारी अधिकृत चन्ना डि सिल्भाले भन्नुभयो, “हामी फोनपेसँग अन्तरआबद्धताको यो यात्रा सुरु गर्न पाउँदा हर्षित छौं । यो साझेदारी, श्रीलंकामा डिजिटल भुक्तानीमा फड्को मार्ने उद्देश्यको महत्त्वपूर्ण कोसेढुङ्गा सावित भएको छ । यो रणनीतिक साझेदारीले हाम्रा ग्राहकहरूको लागि सहज र समावेशी भुक्तानीको वातावरण सिर्जना गर्ने हाम्रो साझा दृष्टिकोणलाई प्रतिबिम्बित गर्दछ । हाम्रा सम्बन्धित प्लेटफर्महरूबीचको दुरी घटाई, हामी नयाँ सम्भावनाहरू खोल्दैछौँ जसले व्यक्ति र व्यवसायहरूलाई सहज रूपमा भुक्तानी कारोबार गर्ने वातावरण बनाउँछ ।”

ग्रुप स्ट्राटेजि डिरेक्टर डेनियल डि .श्रेष्ठले पनि आफ्नो विचार व्यक्त गर्दै भन्नुभयो, “श्रीलंकाको सबैभन्दा ठूलो भुक्तानी नेटवर्कसँगको यो समझदारी हामीले बैंक तथा वित्तीय संस्थाहरूसँग संयुक्त रूपमा नेपालमा हासिल गरेका सफलताहरूलाई अन्तर्राष्ट्रिय बजारमा पनि दोहोर्याउने हाम्रो दीर्घकालीन रणनीतिको हिस्सा हो ।

डिजिटल भुक्तानी सेवाहरूमार्फत हाम्रा देशवासीहरूको जीवन सजिलो बनाउने यस संयुक्त अभियानमा हामीलाई विश्वास गर्नुभएकोमा हामी लंकापेलाई धन्यवाद दिन्छौँ । हाम्रो अन्तर्राष्ट्रिय विस्तारको यात्रामा, हामी विश्वस्त छौँ कि— हामीले हाम्रा स्वदेशी प्रविधिहरू र ज्ञानहरू अन्तर्राष्ट्रिय बजारमा लैजाने अवसरहरू मात्र पाउने छैनौं, हामीले अन्तर्राष्ट्रिय बजारमा सफल साबित भएका प्रविधि र ज्ञान नेपालमा पनि प्रयोग गर्ने प्रशस्त अवसर प्राप्त प्राप्त गर्नेछौँ ।

समझदारी पत्र हस्ताक्षर कार्यक्रममा अतिथि तथा प्रतिनिधिहरूलाई धन्यवाद व्यक्त गर्दै फोनपेका अध्यक्ष विश्वास ढकालले आफ्नो उत्साह व्यक्त गर्नुभयो, “यो फोनपेका लागि मात्र नभई सम्पूर्ण राष्ट्रका लागि डिजिटल भुक्तानी क्षेत्रमा अन्तरआबद्धता हासिल गर्ने ऐतिहासिक कदम हो । लंकापेसँग हाम्रो सहकार्यको प्रयासलाई मूर्तरूप दिन सहयोग र मार्गनिर्देशन गर्नुहुने नेपाल सरकार, नेपाल राष्ट्र बैंकलाई हामी हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छौँ ।

श्रीलंका नेपालबीचको यो भुक्तानी अन्तरआबद्धताले उहिलेसम्म दुईदेशबीच रहँदै आएको साँस्कृतिक सम्बन्धसँगै व्यापारिक कारोबारलाई पनि सहज र सर्वसुलभ बनाई दुई देशबीचको आर्थिक सम्बन्धलाई नयाँ उचाईमा पुर्याउनलाई महत्वपूर्ण कोशेढुङ्गा साबित हुनेछ ।”

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *