मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ती गर्ने सैद्धान्तिक सहमति
Investopaper, असाैज ०९, २०७६
काठमाडौं — मेगा बैंक नेपाल लिमिटेडले गण्डकी विकास बैंक लिमिटेडलाई प्राप्ती गर्ने सैद्धान्तिक सहमति भएको छ ।
मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाह र गण्डकी विकास बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष शुशील गौचनले दुबै बैंकको सञ्चालक समितिका सदस्यहरु लगायत प्रमुख कार्यकारी अधिकृतहरुको रोहवरमा असाैज ८ गते बुधबार सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गर्नु भएको छ ।

यो प्राप्ती पश्चात मेगा बैंकको पुँजी, व्यवसायको आकारका साथसाथै शाखा सञ्चालनमा बृहत वृद्धि भई देशकै एक ठूलो “क” वर्गको वाणिज्य बैंकको रुपमा स्थापित हुने मेगा बैंकका अध्यक्ष शाहले बताउनुभयो । हाल मेगाको चुक्ता पुंजी १० अर्ब ३८ करोड छ भने राष्ट्रिय स्तरकाे गण्डकी विकास बैंकको २ अर्ब ७५ करोड छ।
गण्डकी विकास बैंक लिमिटेडको शेयर रोक्काको प्रक्रिया लगायत नेपाल राष्ट्र बैंक समक्ष संयुक्त निवेदन दर्ता गर्ने कार्य यथाशिघ्र अघि बढाईने समेत उहाँले जानकारी दिनुभयो ।
स्वाप रेसियाेकाे अन्तिम निर्णय डिडिएपछि हुने बताइएता पनि गण्डकीले हाल कायम चुक्तापुंजी २ अर्ब ७५ करोडको १५ प्रतिशत लाभांश दिएपछि कायम हुने चुक्तापुंजीको १ बराबर १ हुने भद्र सहमति भएकाे अपुष्ट खवर छ ।
आषाढ मसान्त २०७६ को तथ्यांक अनुसार दुबै बैंकको संयुक्त निक्षेपको आकार रु. १ खर्ब १२ अर्ब तथा कर्जा लगानीको आकार रु. ९८ अर्ब रहेको र हालको शाखा संख्या १९१ पुगेको समेत जानकारी गराइएकाे छ ।
