काठमाडौंमा वायूकाे गुणस्तर खतरनाक तहमा : वृद्ध, बालबालिका र दीर्घरोग भएका बिरामीलाई सकस

न्भेष्टाेपेपर ।  चैत २६, २०८१

काठमाडौँ । काठमाडौंको वायु गुणस्तर फेरि अस्वस्थ तहमा पुगेको छ । एयर क्वालिटी इन्डेक्स  (एक्यूआई) का अनुसार काठमाडौंको वायु गुणस्तर सोमबार साँझ ६ बजे २६२ एक्यूआई पुगेको हो । यो भनेको वायु गुणस्तरको ‘खतरनाक तह’ हो । 

दुई सातादेखि काठमाडौंको हावा प्रदूषित बनेको छ । यसैगरी काठमाडौं सहर सोमबार पनि विश्वकै प्रदूषित सहरको पहिलो सूचीमा छ । खासगरी पछिल्लो समय विभिन्न जिल्लामा फैलिइरहेको डढेलोले काठमाडौंको हावा प्रदूषित बनेको वातावरणविद्हरूले जनाएका छन् । चार दिनअघि नै काठमाडौंको हावाले ‘खतरनाक’ तह पार गरिसकेको थियो । चैत २१ (बिहीबार) काठमाडौंको वायुको गुणस्तर ३८४ एक्यूआई पुगेको थियो ।

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले प्रदूषण कम गर्न अनुरोध र निर्देशन गरिरहेको बताएका छन् । साथै उनी सरकारी निकायले मात्र प्रदूषण कम गर्न नसक्ने र यसमा नागरिक पनि उत्तिकै जिम्मेवार हुनुपर्ने सुनाउँछन् ।

‘अहिले डढेलो, सवारीसाधन, उद्योग, कृषि अवशेष जलाउने कामले प्रदूषण बढाइरहेको छ,’ उनले भने, ‘यिनै निकायसँग हामीले समन्वय अगाडि बढाउने, सुझाव दिने र प्रदूषण कम गर्न अपिल र अनुरोध गरेका छौं ।’ पानी पर्न नसकेको र यस सिजनमा प्रदूषण उच्च नै रहने उनको भनाइ छ ।

बढ्दो प्रदूषणले वृद्ध, बालबालिका, दीर्घरोग भएका बिरामीलाई झन् समस्या पर्ने डाक्टरहरू बताउँछन् । यसैगरी अहिले काठमाडौंका अस्पतालमा छाती र आँखा बिरामी १५ देखि २० प्रतिशत बिरामी बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले बताए । बिरामी बढिरहे पनि सरकारले कुनै निर्णय नसकेको उनको भनाइ छ ।

उपत्यकाका तीनै जिल्लामा वायु गुणस्तर सूचकांक ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) मानव स्वास्थ्यका दृष्टिले खतरनाक तहमा पुगेको छ । एक्यूआई २ सयभन्दा माथि पुगेपछि मानव स्वास्थ्यका दृष्टिले निकै जोखिम मानिन्छ ।

यही २३ चैतमा भक्तपुरमा एक्यूआई ३ सय ६५ पुगेको थियो । त्यसअघि र त्यसपछिका दिनहरूमा पनि २४ घण्टा र प्रत्येक घण्टाको वायुमा विषाक्त कणको मात्रा उच्च भएपछि देशैभर स्वासप्रश्वास र अन्य स्वास्थ्य समस्या भएका बिरामीको संख्या बढ्दो क्रममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरू बताउँछन् । याे समाचार कान्तिपुर दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *