मोबाइलमै फ्लाइटको भाडा र गन्तव्य हेर्न सकिने एप सार्वजनिक

इन्भेष्टाेपेपर । आश्विन ९, २०८३

काठमाडौं । प्रवास ट्राभल एन्ड टुर्सले यात्रु तथा सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै नयाँ मोबाइल एप ‘FlightsNepal.com’  सार्वजनिक गरेको छ। डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै यात्रासम्बन्धी सेवा अझ सहज, पारदर्शी र पहुँचयोग्य बनाउने उद्देश्यले कम्पनीले उक्त एप सञ्चालनमा ल्याएको हो।

अब यात्रुले Google Play Store  तथा Apple App Store  बाट FlightsNepal.com एप डाउनलोड गरी आफू जान चाहेको गन्तव्य, उपलब्ध उडान, हवाई टिकटको भाडा लगायतका आवश्यक विवरण आफ्नै मोबाइलबाट हेर्न सक्नेछन्।

एपमार्फत यात्रुले टिकटको मूल्य तथा उडानसम्बन्धी जानकारी प्रत्यक्ष रूपमा हेर्न सक्ने भएकाले समयको बचतसँगै मूल्यमा पारदर्शिता र सेवाप्रतिको विश्वसनीयता बढ्ने कम्पनीको विश्वास छ।

प्रवास ट्राभल एन्ड टुर्सका म्यानेजिङ डाइरेक्टर प्रकाश लोहनीले डिजिटल प्रविधिको प्रयोगमार्फत यात्रुलाई सहज र पारदर्शी सेवा उपलब्ध गराउने उद्देश्यले एप ल्याइएको बताउनुभयो।

उहाँका अनुसार एपले यात्रुलाई सामान्य जानकारीका लागि पटक–पटक ट्राभल एजेन्सीमा फोन गर्नुपर्ने वा कार्यालय धाउनुपर्ने झन्झटसमेत कम गर्नेछ। मोबाइलमै कुन गन्तव्यमा जाने, कुन उडान उपलब्ध छ र कति खर्च लाग्छ भन्ने जानकारी हेर्न सकिने भएपछि यात्रुले आफ्नो यात्राको योजना आफैं बनाउन सहज हुने उहाँको भनाइ छ।

“डिजिटल प्रविधिको यो समयमा यात्रुलाई सूचना र सेवामा सहज पहुँच दिनु हाम्रो प्राथमिकता हो। मोबाइलबाटै टिकटको फेयर तथा आवश्यक विवरण हेर्न सकिने भएपछि समयको बचत हुनुका साथै सेवामा पारदर्शिता र विश्वसनीयता पनि बढ्छ,” लोहनीले भन्नुभयो।

एपले यात्रासम्बन्धी कारोबारमा हुने सम्भावित भ्रम तथा ठगीका जोखिम न्यूनीकरण गर्नसमेत सहयोग पुग्ने उहाँको विश्वास छ। यात्रुले टिकटको मूल्य तथा उडानसम्बन्धी जानकारी आफैं हेर्न सक्ने भएकाले सेवाप्रति थप स्पष्टता आउने कम्पनीको भनाइ छ।

प्रवास ट्राभल एन्ड टुर्सले आगामी दिनमा पनि ग्राहकको हकहित, सुविधा र बदलिँदो डिजिटल आवश्यकतालाई प्राथमिकतामा राख्दै थप प्रविधिमैत्री सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *