नेपाललाई विकासशील देशमा स्तरोन्नति गर्ने प्रस्ताव अनुमोदन

इन्भेष्टोपेपर । मंसिर १०, २०७८

काठमाडौं । सन् २०२६ सम्ममा नेपाललाई अल्पविकसित राष्ट्रबाट मध्यमस्तरको विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने नेपालको प्रस्तावलाई संयुक्त राष्ट्रसंघको महासभाले अनुमोदन गरेको छ । संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्ले उक्त प्रस्तावलाई अनुमोदनका लागि महासभामा पेश गरेको थियो ।

संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी नियोग प्रमुख अमृत राईका अनुसार नेपालको स्तरोन्नतिको प्रस्तावलाई पाँच वर्षको तयारी अवधिसहित राष्ट्र संघले बुधवार अनुमोदन गरेको हो ।

उक्त अवसरलाई सम्बोधन गर्दै राईले नेपालले आगामी पाँच वर्षभित्र अर्थतन्त्रको संरचनागत परिवर्तनका लागि आफ्ना तर्फबाट सम्पूर्ण प्रक्रिया पूरा गर्न प्रतिबद्ध रहेको बताउनु भएकाे थियाे । राईले अगाडि भन्नुभयाे, ‘नेपाल सरकारले स्तरोन्नतिसम्बन्धी रणनीति तर्जुमा समेत गरिसकेको छ, अब पाँच वर्षभित्र अर्थतन्त्रको संरचना तयार पारेर अन्तरराष्ट्रिय समुदायमा देशको छवि उँचो बनाउने अवसर हो ।’

नेपालले सन् २०१५ र २०१८ मा पनि स्तरोन्नतिको मापदण्ड पूरा गरेको थियो, तर तत्कालीन अवस्थामा भूकम्पका कारणले अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गर्नुपरेको भन्दै यो प्रस्तावसम्बन्धी कार्यलाई नेपालले पछि सारेको थियो ।

राष्ट्रसंघले विभिन्न मापदण्डका आधारमा तयार पार्ने अल्पविकसित देशहरूको सूचीमा नेपाल सन् १९७१ मा सूचीकृत भएको थियो । ५० वर्षपछि नेपालले विश्वमानचित्रमा आफूलाई विकासशील देशको सूचीमा सूचीकृत गर्न सफल हुनु नेपालका लागि एक महत्त्वपूर्ण अवसर भएको बताइएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार कुनै पनि मुलुकले विकासशील राष्ट्रमा स्तरोन्नति गर्न प्रतिव्यक्ति आय एक हजार २२२ अमेरिकी डलर हुनुपर्ने जनाएको छ । हाल नेपालको प्रतिव्यक्ति आय एक हजार १९१ अमेरिकी डलर रहेको छ ।

संयुक्त राष्ट्रसङ्घले जारी गरेको वक्तव्यका अनुसार नेपालसहित बङ्गलादेश र गणतन्त्र लाओसलाई विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि पूर्वतयारीको पाँच वर्षे समय दिइएको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *