‘बिपी व्यक्ति एक, व्यक्तित्व अनेक’

न्भेष्टाेपेपर । भाद्र २५, २०८०

ललितपुर ।  प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय बिपी कोइरालाको ११० औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसले सानेपास्थित बिपी स्मृति भवनमा आयोजना गरेको बिपी साहित्य महोत्सव आइतबार सुरु भएको छ ।

तीन दिनसम्म चल्ने महोत्सवको पहिलो दिन सञ्चालन भएको विभिन्न सत्रमा बिपीको जीवनका विविध पक्ष; सामाजिक, आर्थिक तथा धार्मिक सांस्कृतिक दृष्टिकोणसहित समाज रूपान्तरणमा उहाँले पु-याउनुभएको योगदानका बारेमा लेखक, साहित्यकार, समालोचकहरूले  सूक्ष्म तरिकाले विश्लेषण प्रस्तुत गर्नुभएको छ ।

कार्यक्रमको प्रमुख वक्ताका रूपमा प्राध्यापक एवं साहित्यकार अभि सुवेदीले बिपीका विभिन्न लेखमा प्रयोग भएका भाषा, शब्द, साहित्यका पात्र र उनीहरूमार्फत व्यक्त गरिएका विचारहरूको सूक्ष्म विश्लेषण गर्दै उहाँको जीवनदर्शन बृहत् र बहुआयामिक भएको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “बिपीले राजनीतिक दर्शनको ठेली नलेखी साहित्य र त्यसमा प्रयुक्त पात्रमार्फत नै मानव अधिकारले युक्त स्वतन्त्र, समृद्ध समाज र सार्वभौम स्वतन्त्र प्रजातान्त्रिक मूल्य मान्यतासहितको राष्ट्रको नीति हुनुपर्ने  बताउनुभएको छ ।”

सुवेदीले बिपीका कृतिहरू सचेष्ट रहेको बताउनुभयो । उहाँले बिपीले आफूभित्रको राजनीतिक व्यक्तित्व र साहित्यिक व्यक्तित्व फरक फरक भएको बताए पनि त्यो आफूले मान्न नसकेको बताउनुभयो । उहाँका राजनीतिक गतिविधि र विचारहरूमा साहित्यका चिन्तन र सोचहरू एकअर्काको परिपूरक जस्तै लाग्ने उहाँले बताउनुभयो । बिपीका २०२५ सालअघिका साहित्य र पछिका साहित्यमा निकै ठुलो अन्तर रहेको पनि उहाँले स्पष्ट पार्नुभयो । उहाँले कतिपय लेखकले बिपीलाई फ्रायडवाद मात्र हुन् भनेर विश्लेषण गर्ने गरेको भन्दै त्यसरी मात्र सीमित हुन नहुने धारणा व्यक्त गर्नुभयो । 

महोत्सवको दोस्रो सत्रमा साहित्यकार भुवन ढुङ्गानाले बिपी बाल्यकालदेखि नै विद्रोही स्वभावको भएको बताउनुभयो । उहाँका पिता र माताको साहस र आँटबाटै उहाँलाई यो स्वभाव मिलेको उहाँको भनाइ थियो । प्राध्यापक कृष्ण खनालले बिपीको प्रेरक वाक्यका रूपमा ‘ठूलो होइन, असल मान्छे बन्नु पर्छ’ भन्ने सन्देश स्मरण गर्दै बिपीका साहित्यमा पात्र सिर्जना जति जटिल छन्, त्योभन्दा जटिल स्वयम् उहाँको व्यक्तित्व भएको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “बिपीको साहित्यमा रहस्यवाद, साहित्यमा रोमान्स वा छायावाद र राजनीतिमा गान्धीवादको आदर्श रहेको देखिन्छ ।”

समालोचक सिके लालले भयभीत मान्छेले प्रश्नको सामना गर्न नसक्ने र त्यसलाई दबाउने प्रवृत्तिको हुन्छ भन्दै त्यसको विपरीत बिपी आफूलाई जनताले प्रश्न गरून् भन्ने चाहना राख्ने व्यक्ति भएको बताउनुभयो । त्यसलाई आजको पार्टीका कुनै पनि नेताले अनुसरण गर्न नसकेको टिप्पणी पनि उहाँले गर्नुभयो । उहाँले बिपी स्पष्ट नीतिसहितको क्रान्तिकारी नेता भएको र व्यावहारिक राजनीतिकर्मीले परिस्थिति अनुरूप आफूलाई उभ्याउन सक्ने सामथ्र्य राख्ने बताउनुभयो । ती सबै गुण बिपीमा रहेको उहाँको भनाइ थियो । 

आइतबार नै बिपीका आख्यानमा मनोविश्लेषण, साहित्यमा पर्यावरण, नेपालको मातृभाषा र साहित्यको विषयमा पनि परिचर्चा भएको थियो । त्यस्तै बिपीको व्यक्तित्वमा आधारित भएर विभिन्न कलाकारका चित्रकला पनि साहित्यिक महोत्वमा प्रदर्शन गरिएको छ भने कविता साँझमा २० जना कविले कविता प्रस्तुत गर्नुभयो । सोमबार प्रमुख वक्ताका रूपमा भारतीय प्राध्यापक आनन्द कुमार रहनुहुने छ । उहाँले अहिलेको समाजवादमा माक्र्स, गान्धी र बिपी विषयमा बोल्ने कार्यक्रम तय भएको छ । यसबाहेक बिपीले नपाएको १४ वर्ष, बिपीका आख्यानमा मधेश, अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बिपी, युवा स्रष्टामा बिपी पठन विषयमा चर्चा हुने छ । सोमबार गजल साँझ आयोजना गरिएको छ । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *