विदाका दिन पनि बैंक खोल्न राष्ट्र बैंककाे निर्देशन
इन्भेष्टोपेपर । जेष्ठ ३०, २०७७
नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई शनिबारलगायतका सार्वजनिक बिदाका दिनमा पनि सञ्चालन गर्न निर्देशन दिएको छ ।
बिहीबार मन्त्रीपरिषदले लकडाउनलाई सहज बनाएपछि करदाताहरूले कर सहज रूपमा बुझ्ने व्यवस्था गर्नका लागि पनि बैंक खोल्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।
नेपाल राष्ट्र बैंककाे निर्देशन अनुसार आगामी असार ३२ सम्म सार्वजनिक बिदा परेका दिनमा पनि बैंकहरूका सम्पूर्ण राजस्व सङ्कलन गर्ने शाखा र काउन्टर एवं बैंक तथा क्लियरिङ सम्बन्धी कार्य गर्ने काउन्टरलगायत नेपाल क्लियरिङ हाउससमेत पूर्णकालीन रूपमा खुल्ला रहनेछन ।
सार्वजनिक बिदामा पनि करिब चारदेखि पाँच हजार चेक क्लियरिङ हुँदै आएको र दैनिक रूपमा यो बढ्दो क्रममा रहेको राष्ट्र बैंकले जनाएको छ । यसबाट सरकारी भुक्तानी, कर तथा राजस्व सङ्कलन र सामान्य व्यक्तिलाई पनि निकै सहज हुन थालेको राष्ट्र बैंकको दाबी छ ।
