च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बार्सिलोना पछारियाे
इन्भेष्टोपेपर । श्रावण ३१, २०७७
च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा बार्सिलोनाले लज्जास्पद हार व्यहोरेको छ । गएराति भएको खेलमा बार्सिलोनाले जर्मन क्लब बायर्न म्युनिखसँग ८-२ को भारी गाेल अन्तरले हार व्यहोरेको हो ।
थोमस मुलर र फिलिप कौटिन्होले समान दुई/दुई गोल गर्दै बायर्नलाई जित दिलाए । जितसँगै बायर्नले अन्तिम चारमा स्थान पक्का गर्यो ।
हारसँगै बार्सिलोना युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताबाट बाहिरिएको छ । मुलरले खेलको चौथो मिनेटमा बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि डबिड अलाबाको आत्मघाती गोलसँगै बार्सिलोना खेलमा फर्किएको थियो ।
२८ औं मिनेटमा इभान पेरिसिकले बायर्नलाई २-१ ले अघि बढाएका थिए । सर्ज ग्रन्बीले २८ औं मिनेटमा बायर्नका लागि तेस्रो गोल गरे । मुलरले ३१ औं मिनेटमा दोस्रो गोल गर्दै पहिलो हाफको खेल बायर्नको नियन्त्रणमा राखेका थिए ।
दोस्रो हाफमा बायर्न थप आक्रमक बन्यो र ८–२ को जित दिलाउन सफल भयो । बायर्नले अब फाइनल प्रवेशका लागि म्यान्चेष्टर सिटी र लियोनबीचको विजेतासँग खेल्नेछ ।
— एजेन्सी