भाषिक एकतामा भानुभक्तको योगदान महत्वपूर्ण

न्भेष्टाेपेपर । असार २९, २०८०

लेखनाथ ।  भानु वाङ्मय प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा आज पोखरामा आयोजित २१०औँ भानुजयन्तीमा भाषिक एकतामा भानुभक्तले पुर्याउनुभएको योगदानको चर्चा गरिएको छ ।

नेपाली भाषामार्फत राष्ट्रिय एकता कायम गर्न भानुभक्तले गर्नुभएको योगदान अविस्मरणीय भएको बताउँदै वक्ताहरूले सभ्य समाज निर्माणका लागि उहाँले दिनुभएको सन्देश पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले भाषिक एकतामार्फत भानुभक्तले गर्नुभएको योगदान अविस्मरणीय भएको उल्लेख गर्दै उहाँको योगदानलाई जीवन्त राख्नुपर्ने बताउनुभयो । पोखरामा भानुभक्तको योगदानलाई चिरस्थायी बनाउँदै साहित्यिक पर्यटकीय स्थलका रुपमा विकास गर्न विशाल भानुभक्तको शालिक राख्ने सोच अघि बढाइएको उहाँले बताउनुभयो ।

भानु वाङ्मय प्रतिष्ठानका अध्यक्ष सरुभक्तले भानुभक्तका अमर काव्य अहिले पनि उत्तिकै महत्वपूर्ण भएको बताउनुभयो । भानुभक्तको स्मारक तयार गर्दै स्वदेशी एवम् विदेशी साहित्यकारलाई अध्ययन अनुसन्धानका लागि पोखरालाई गन्तव्यस्थलका रुपमा विकास गर्नुपर्ने उहाँले बताउनुभयो ।

पृथ्वीनारायण क्याम्पस नेपाली विभागका प्रमुख प्राडा कुसुमाकर न्यौपानेले भाषा बिग्रेमा त्यसको असर हाम्रो समाज र सन्ततिलाई पर्ने जनाउँदै त्यसतर्फ सबै सजग बन्नुपर्नेमा जोड दिनुभयो ।

पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकालले भानुजयन्तीका अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको जनाउँदै उहाँको योगदानलाई चिरस्थायी बनाउनुपर्ने बताउनुभयो ।

भानु वाङ्मय प्रतिष्ठानका उपाध्यक्ष हनिफ मिया, सचिव अम्बिकाप्रसाद भट्टराई, प्राज्ञ हरिदेवी कोइराला, पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, पोखरा–११ का वडाध्यक्ष प्रेम कर्माचार्य, भानुमार्ग आमा समूहका अध्यक्ष मिठु गुरुङलगायतले नेपाली भाषाको विकासमा भानुभक्तले गर्नुभएको योगदान अतुलनीय भएको बताउनुभयो ।

उक्त अवसरमा पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईद्वारा स्थापित एवम् भानु वाङ्मय प्रतिष्ठानद्वारा सञ्चालित भानु वाङ्मय पुरस्कारबाट पृथ्वीनारायण क्याम्पसमा स्नातकोत्तर तहमा नेपाली विषयमा सर्वोत्कृष्ट अङ्क ल्याउने मिलनकुमारी नेपालीलाई रु. १० हजार नगद तथा सम्मानपत्रसहित पुरस्कृत गरिएको थियो ।

यसअघि पोखराको चिप्लेढुङ्गाबाट भानु प्रतिमास्थल पोखरा–११ फूलबारी भानु चोकसम्म नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोलीसहित प्रतिष्ठानका पदाधिकारी एवम् सदस्य, विभिन्न विद्यालयका विद्यार्थी प्रभातफेरीमा सहभागी भएका थिए । सहभागीले फूलबारी भानुचोकस्थित भानुभक्तको पूर्ण कदको सालिकमा माल्यार्पण गरेका थिए । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *