विद्युत् निर्यातकाे परिमाण र रकम दुवै क्रमिक रूपले बढदै

इन्भेष्टाेपेपर ।  असाैज ५, २०७९

काठमाडौँ ।  इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा विद्युत् निर्यात सुरु गरेको नेपाल विद्युत् प्राधिकरणले निर्यातको परिमाण र रकम दुवै क्रमिक रूपले बढाउँदै गएको छ । यो वर्ष जेठमा ८९ करोड रुपियाँको विद्युत् निर्यात गरेको प्राधिकरणले भदौमा मात्रै २ अर्ब ४१ करोड ६८ लाख रुपियाँको विद्युत् निर्यात गरेको छ । 

प्राधिकरणले असारमा एक अर्ब ८६ करोड र साउनमा दुई अर्ब एक करोड ८४ लाख रुपियाँको विद्युत् निर्यात गरेको थियो । प्राधिकरणका अनुसार विद्युत् परिमाण र प्रतियुनिट औसत दर पनि क्रमिक रूपले बढेकाले पनि निर्यातको ग्राफ बढ्दो देखिएको हो । प्राधिकरणले यो वर्ष ४ महिनामा मात्रै सात अर्ब १९ कोरोड ८६ लाख रुपियाँको बिजुली डे अहेड मार्केटमा बिक्री गरी आर्जन गरेको छ । 

यो वर्षको आँकडा अनुसार नेपालको ७८ करोड ७८ हजार युनिट बिजुली प्रतियुनिट औसत नौ रुपियाँ २३ पैसामा बिक्री गरेको छ । मासिक औसत दर पनि बढेको छ । असारमा ८ रुपियाँ ५३ पैसा रहेको औसत दर भदौमा आइपुग्दा नौ रुपियाँ ८० पैसा पुगेको छ । 

भारतसँगको विद्युत् व्यापार भारतीय रुपियाँ (भारु) मा हुने भएकाले ४ महिनाको अवधिमा विद्युत् बिक्रीबाट चार अर्ब ४९ करोड ९१ लाख भारतीय रुपियाँ नेपाल भित्रिएको छ । विद्युत् व्यापारमार्पmत नेपाल भारत व्यापार घाटा साँधुरो पार्न र विदेशी मुद्रा सञ्चतिमा सकारात्मक योगदान पुगिरहेको र यसलाई अझै बढाउँदै लैजाने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो, “चालू आर्थिक वर्षमा १६ अर्बको बिजुली निर्यात गर्ने योजना छ, थप परिमाण निर्यातका लागि प्रस्ताव पनि गरेका छौँ ।”

दुई सय १२ मेगावाट थप्न प्रस्ताव

आईईएक्समा नेपालले अहिले ३६४ मेगावाट विद्युत् निर्यातको अनुमति पाएको छ । सोहीअनुसार आईईएक्समा दैनिक ९६ स्लटमा विद्युत् मूल्य र उपलब्धताका आधारमा प्रतिस्पर्धामार्पmत विद्युत् बिक्री गर्दै आएको छ ।

नेपालको विद्युत् भारतीय बजारमा बिक्रीका लागि भारतको ऊर्जा मन्त्रालय मातहतको केन्द्रीय विद्युत् प्राधिकरणबाट अनुमति पाउनुपर्ने हुन्छ । प्राधिकरणले पछिल्लो दुई पटक गरी थप २१२.७ मेगावाट निर्यात गर्न भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा प्रस्ताव पु-याएको छ । यही सिजनमा नै सो परिमाण थप्ने अपेक्षा प्राधिकरणको छ । 

नेपालमा अब चाडवाड पनि सुरु हुन लागेकाले उद्योग कलकारखाना बन्द हुने र विद्युत् खपत कम हुनेगर्छ । यसर्थ प्राधिकरणले देशभित्र उत्पादित विद्युत् खेर जान नदिने गरी भारत निर्यातको प्रयास गरेको हो । “करिब २ सय मेगावाट थप विद्युत् निर्यातको सहमतिका लागि प्रस्ताव पठाएका छौँ, भारतीय पक्षबाट थप विद्युत् निर्यातका लागि छिट्टै सहमति दिनेमा विश्वस्त छौँ,” घिसिङले भन्नुभयो ।

प्राधिकरणले निजी क्षेत्रले निर्माण गरेका २९.०४ मेगावाटको लिखुखोला ए, २५ मेगावाटको काबेली बी–१, २२ मेगावाटको माईखोला, १४.९ मेगावाटको हेवाखोला ए र १० मेगावाटको तल्लो मोदी–१ जलविद्युत्गृहबाट उत्पादित १००.९ मेगावाट विद्युत् निर्यातको प्रस्ताव गरेको छ । 

यसअघि निजी क्षेत्रले निर्माण गरेका २९.०४ मेगावाटको लिखुखोला ए, २५ मेगावाटको काबेली बी–१, २२ मेगावाटको माईखोला, १४.९ मेगावाटको हेवाखोला ए र १० मेगावाटको तल्लो मोदी–१ जलविद्युत्गृहबाट उत्पादित १००.९ मेगावाट विद्युत् निर्यातको प्रस्ताव भारत पठाइसकेको छ । सबैको अनुमति प्राप्त भएमा नेपालले कुल ५७७ मेगावाट विद्युत् भारत निर्यात गर्ने अपेक्षा गरेको छ । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *