प्रेम दिवसमा रानिमहलको ब्रान्डिङ हुने

न्भेष्टाेपेपर ।  माघ २५, २०७९

तानसेन ।  तानसेन नगरपालिकाको मुख्य आयोजनामा नेपालको ताज महल भनेर चिनिने रानि महलमा प्रेम दिवसको अवसर पारेर नाटा लुम्बिनी प्रदेश र नाटा पाल्पाको सहकार्यमा रानी महल ब्रान्डिङ गरिने भएको छ । 

फागुन २ गते मनाइने दिवसका दिन रानिमहलमा विशेष कार्यक्रमको आयोजना गरी दिवस मनाउन लागिएको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा २५ विशेष जोडिले रातो गुलाबको फुल साटासाट गर्नेछन् । 

वि.सं १९५० मा शिलान्यास भई चार वर्षमा दरबार मन्दिर पाटी पौवासहितको निर्माण कार्य पूरा भएको बौघागुम्बा गाविस– २ मा अवस्थित रानी महल दरबार नेपालकै ताज महलका रूपमा काली गण्डकी नदीको उत्तरतर्फ हानिने मोडमा विशाल चट्टानमाथि पश्चिमी कलाशालीमै रहेको छ । रानी महल दरबारको बायाँतर्फ शीत्तलपाटी दरबार परिसरमा फोहराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुई वटा पोखरी दाहिनेतर्फ पहरा दिने स्थल छ भने खुड्किलोको बायाँतर्फ एउटै किसिमको शिव र गङ्गाका दुई मन्दिर छन् । 

 शिवको मन्दिरमा जोडिले सिक्का साटेर आफ्नो जोडी अमर बनाउने बर माग्ने कार्यक्रम रहेको तानसेन नगरपालिकाका प्रवक्ता यादव सिंह कार्कीले जानकारी दिनुभयो ।  रानी तेजकुमारीले दैनिक पूजा गर्ने यो मन्दिरमा  सिक्का साटे सम्बन्ध युगौँ युग रहने उहाँको भनाइ छ ।

प्रचार प्रसारको अभावमा ऐतिहासिक रानिमहल ओझेलमा परेकोले तानसेन नगरपालिकासँग सहकार्य गरी यसलाई अन्तर्राष्ट्रिय रूपमा ब्रान्डिङ गर्न लागिएको नाटा लुम्बिनी प्रदेशका अध्यक्ष रचना पन्तले जानकारी दिनुभयो । उहाँले २५ जोडिलाई रातो कार्पेटमा राखेर रातो गुलाबको फुल साटासाट गर्ने गरी सहभागी गरिने बताउनुभयो । पन्तका अनुसार सहभागी विशेष २५ जोडिलाई बिहानको खाजा ,दिउसोको खाजा,साँझको खाना सहित आवासको पनि व्यवस्था गरिने छ ।  

तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले प्रेमको प्रतीकको रूपमा रहेको रानि महललाई प्रेम दिवसकै अवसर पारेर कार्यक्रम राखिदा यसको थप गरीमा बढ्ने भएकाले प्रेम दिवसमा कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । ज्ञवालीका अनुसार पर्यटन प्रवर्धन गर्दै रानिमहललाई अन्तर्राष्ट्रिय स्तरमा लैजान यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्नेछ ।  

विसं १९६० मा खड्ग शमशेरले श्री ३को पदसहित शासन सत्ताको बागडोर आफूले सञ्चालन गर्न खोज्यो भन्ने षड्यन्त्रको छनक पाएपछि चन्द्र शमशेरले पाल्पामा थप सेना पठाइ तैनाथी आफ्नो हातमा लिएका थिए । खड्ग शमशेरले आफूमाथि थप खतरा उत्पन्न हुने त्रासमा दरबारमा रहेका सबै बहुमूल्य बस्तु छाडेर तीन साँचो र सरकारी ढुकुटी लिई भारत पलाएन भएपछि प्रेमको प्रतीक ठानिने रानी महल बेवारिसे बन्न पुगेको स्थानीय बासिन्दाहरू बताउँछन् । दिवङ्गत रानीको सम्झनामा बनाइएकोले रानी महल दरबारलाई ’प्रेमको प्रतीक’ का रूपमा लिइने गरिन्छ । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशितभएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *