ब्राजिलका महान् खेलाडी पेलेको जर्सी ४९ लाखमा बिक्री
इन्भेष्टाेपेपर । साउन २, २०८३
न्युयोर्क । सन् १९५८ को विश्वकप फुटबल फाइनलमा ब्राजिलका महान् खेलाडी पेलेले लगाएको १० नम्बरको जर्सी ४९ लाख डलरमा बिक्री भएको छ ।
१७ वर्षीय पेलेले सो खेलमा स्विडेनविरुद्ध ब्राजिललाई जित दिलाउन दुई गोल गरेर विश्वकप फाइनलमा सबभन्दा कम उमेरका खेलाडीले गोल गरेको कीर्तिमान राख्नुभएको थियो । जुन कीर्तिमान अहिलेसम्म भङ्ग भएको छैन । यो विश्व फुटबलकै अहिलेसम्मको दोस्रो महँगो जर्सी बिक्रीका रूपमा रहेको छ ।
यसअघि अर्जेन्टिनाका डिएगो म्याराडोनाले सन् १९८६ मा इङ्ग्ल्यान्डविरुद्ध ह्यान्ड अफ गडका रूपमा चर्चित गोल गर्दा लगाएको जर्सी सन् २०२२ मा ९३ लाख डलरमा बिक्री भएको थियो । विश्व फुटबलका यी दुवै महान् खेलाडीको निधन भइसकेको छ । एपी
