बजेट महत्वकाङ्क्षी नभई वास्तविक हो : अर्थमन्त्री शर्मा

इन्भेष्टाेपेपर ।  जेठ २१, २०७९

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट अत्यन्तै संयमता अपनाएर स्रोत र साधनको उचित विनियोजन गरिएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको शुब्रवारकाे बैठकमा आव २०७९/८० को बजेटमाथिको सैद्धान्तिक छफलमा उठेका प्रश्नको उत्तर दिँदै उहाँले बजेट महत्वकाङ्क्षी नभई सन्तुलित र वास्तविक भएको उल्लेख गर्नुभयो । अर्थमन्त्री शर्माले चालू आवको तुलनामा आगामी आवको बजेट ९.८६ प्रतिशतले मात्रै बढी भएकाले यसलाई महत्वाकाङ्क्षी भन्न नमिल्ने बताउनुभयो । उहाँले संविधान र सङ्घीयताको मर्मलाई मध्यनजर गरी बजेट तर्जुमा गरिएको धारणा राख्नुभयो ।

कृषि क्षेत्रमा प्रोत्साहन, बाँझो जमिनको सदुपयोग र युवालाई कृषिमा आकर्षण गर्न बजेटले कार्यक्रम समावेश गरेको उहाँले जानकारी दिनुभयो । किसानलाई आत्मसम्मानका साथ उत्साहित गर्नुपर्ने भएकाले योगदानमा आधारित किसान हितकोषको व्यवस्था गरिएको र बजेटले आन्तरिक उत्पादनलाई जोड दिएको उहाँले उल्लेख गर्नुभयो । 

उपलब्ध स्रोत, साधन, पुँजी र प्रविधिलाई जोडेर तीव्र उत्पादनतर्फ देशलाई लैजाने आजको आवश्यकता भएकाले सोहीअनुरुप बजेट तर्जुमा गरिएको मन्त्री शर्माले बताउनुभयो । उत्पादनमूलक उद्योग, निर्यात प्रवद्र्धनलगायत विषयलाई बजेटले समेटेको पनि उहाँले जानकारी दिनुभयो ।

अर्थमन्त्री शर्माले निर्वाचन हुने वर्ष भए तापनि संविधानतः सरकारले हरेक जेठ १५ मा वार्षिक बजेट पेश गर्नुपर्ने भएकाले सो दायित्व निर्वाह गर्दै बजेट ल्याइएकाले निर्वाचनवपछि बन्ने सरकारले पनि यस बजेटलाई निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले मुलुकको अर्थतन्त्र चलायमान बन्दै गएको र पर्यटनबाहेक सबै क्षेत्र पूर्ववतः अवस्थामा फर्किएको तथा राजस्व सङ्कलन पनि सन्तोषजनक रहेको बताउनुभयो । 

उहाँले आगामी आर्थिक वर्ष कृषि उत्पादन र पर्यटन प्रवद्र्धनका लागि गरिएको लगानीलगायत समग्रतामा आठ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले चालू आवमा वैदेशिक सहायता उत्साहप्रद्र्धक रहेको र आगामी वर्ष वैदेशिक लगानी भित्र्याउने आधार तयार गरिएकाले अर्थतन्त्रको प्रगति हुने अपेक्षा गर्नुभयो । 

उहाँले मल र बीउका लागि पर्याप्त बजेट विनियोजन भएकाले आवश्यकताअनुरुप बजेट व्यवस्थापन हुने भन्दै कृषकलाई मलको अभाव हुन नदिने बताउनुभयो । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलगायत ठूला पूर्वाधार आयोजना यसैवर्ष सुरु गरिने उहाँले प्रतिबद्धता जनाउनुभयो । 

उहाँले पर्यटन क्षेत्रको पुनरुत्थान, लगानीमा सहुलियत, कृषि, वन प्रवद्र्धनका कार्यक्रमलाई प्राथमिकता दिइएको उल्लेख गर्नुभयो । मन्त्री शर्माले शैक्षिक सुधारका कार्यक्रमलाई निरन्तरता दिई प्राविधिक र भौतिक सुधारलाई जोड दिइएको बताउनुभयो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *