आउँदो आर्थिक वर्षको बजेट लेखन समिति गठन

न्भेष्टाेपेपर ।  फागुन १६, २०८१

काठमाण्डौ । आउँदो आर्थिक वर्ष २०८२–८३ को बजेट लेखनका लागि अर्थ मन्त्रालयले बजेट लेखन समिति गठन गरेको छ ।

समितिको संयोजकमा बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपाल हुनुहुन्छ । सदस्यमा वैदेशिक महाशाखा प्रमुख धनीराम शर्मा, राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्री, प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनी, आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तीर्थ चिलुवाल र सहमहालेखा नियन्त्रक सुशीला अर्याल रहेको मन्त्रालयले जनाएको छ ।

बजेट लेखन समितिले बजेटको सिद्धान्त तथा प्राथमिकता निर्धारण, मन्त्रालयगत आयोजनाहरु कार्यक्रमको प्राथमिकीकरण गर्न सहजीकरण, बजेट वक्तव्यको मस्यौदा तयार गर्नुका साथै नीति तथा कार्यक्रममा सुझाव पेश गर्ने कार्य जिम्मेवारी रहेको संयोजक नेपालले जानकारी दिनुभयो ।

यसैबीच अर्थ मन्त्रालयले राष्ट्रिय योजनाबाट स्रोत समितिको निर्णयबमोजिम प्राप्त भएको बजेटको सीमाभित्र रहेर चालु, पुँजीगत, वित्तीय व्यवस्था तथा अन्तर सरकारी वित्त हस्तान्तरणको मन्त्रालयगत सीमा तथा प्रदेश र स्थानीय तहका लागि वित्तीय हस्तान्तरणको सीमा उपलब्ध गराएको छ ।

आर्थिक कार्यविधि तथा उत्तरदायित्व ऐनमा फागुन १५ गतेसम्ममा आगामी आर्थिक वर्षको बजेटको सीमा तथा बजेट तर्जुमासम्बन्धी मार्गदर्शन पठाउने व्यवस्था छ ।

त्यसैगरी अर्थ मन्त्रालयले समानीकरण अनुदानको सीमा राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगलाई उपलब्ध गराएको छ । समपूरक र विशेष अनुदानको सीमा राष्ट्रिय योजना आयोग र सशर्त अनुदानको सीमा सम्बन्धित विषयगत मन्त्रालयहरुलाई उपलब्ध गराएको छ । राष्ट्रिय गौरवका आयोजनाहरु र मुख्यमुख्य आयोजनाहरुका लागि बजेट एयरमार्क गरी  पठाइएको छ ।

बजेट मार्गदर्शनमा बजेटको सीमाभित्र रही गुणस्तरीय आयोजना तथा क्रियाकलापमा बजेट प्रस्ताव गर्न, नयाँ आयोजना प्रस्ताव गर्दा चालु आयोजनालाई प्राथमिकीकरण गर्ने तयारी पूरा भएका एवम् लगानी ढाँचा सुनिश्चित भएका आयोजनामात्र प्रस्ताव गर्नेलगायत विषय समावेश छन् ।

त्यसैगरी आयोजनाहरु दोहोरो नपर्नेगरी आयोजना बैंकमा समावेश भएका प्रस्तावमात्र समावेश गर्न पनि अर्थ मन्त्रालयले आग्रह गरेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *