बढी बिजुली खपत गर्ने उद्योग स्थापना गर्न निजी क्षेत्रलाई आह्वान, सरकारले सहजीकरण गर्ने

इन्भेष्टोपेपर । पुष २७, २०७८

काठमाडौं । सरकारले बढी विद्युत् खपत गर्ने उद्योग स्थापनाका लागि निजी क्षेत्रलाई आह्वान गरेको छ । स्वदेशी बिजुलीको खपत स्वदेशमा नै गर्नुपर्छ भन्ने ध्येयका साथ सरकारले उद्योगी तथा व्यवसायीलाई त्यस्तो आग्रह गरेको हो ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले भन्नुभयाे, “हामीले बढी विद्युत् खपत गर्ने उद्योग स्थापनाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई विशेष आह्वान गर्दै आएका छौँ । सरकार थप सहजीकरणका लागि तयार छ ।”  

स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इप्पानको आयोजना तथा नेपाल उद्योग परिसङ्घ र नेपाल पावर एक्सचेञ्ज लिमिटेडको सहकार्यमा आयोजित नेपाल पावर मार्केट समिट २०२२ लाई सम्बोधन गर्दै उहाँले बिजुलीको खपत बढाउने विषय नै अहिलेको प्रमुख आवश्यकता रहेको बताउनुभयाे । 

सरकारको पहिलो प्राथमिकता विद्युत् खपतलाई वृद्धि गर्दै लैजानेमा नै रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि विद्युतीय चुल्होको प्रयोग र विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवद्र्धन गर्ने नीति लिएको जानकारी गराउनु भयाे । अहिले निजी क्षेत्रबाट सञ्चालित उद्योगले मागेअनुसार विद्युत् उपलब्ध गराउँदै आएको विवरण पेश गर्दै ऊर्जामन्त्रीले बिजुलीलाई कच्चा पदार्थको वस्तुका रूपमा लिएर त्यसलाई बढावा दिनुपर्नेमा जोड दिनुभयाे । 

उहाँले भन्नुभयाे, “एकातिर हामीले विद्युत् खपतलाई प्राथमिकतामा राखेको छौँ भने अर्कोतर्फ अन्तरदेशीय विद्युत् व्यापारका लागि निरन्तर राजनीतिक एवं कूटनीतिकस्तरमा विचार विमर्श गर्दै आएका छौँ । यस प्रकारको छलफललाई अझ तीव्रता दिँदै थप उपलब्धि हासिल गर्नेतर्फ नेपाल सरकार लागेको छ ।”

विद्युत् उत्पादन र खपतको वास्तविकता र यस क्षेत्रका मित्रराष्ट्रको ऊर्जाको आवश्यकताका आधारमा पनि एकआपसमा सहकार्य गर्ने खालको रहेको भन्दै उनले हाम्रोमा उत्पादन बढी हुँदा मित्रराष्ट्रमा विद्युत्को माग बढी हुने गरेकाले पनि अवस्था सहज रहेको बताउनुभयाे । उहाँले भन्नुभयाे, “हाम्रोमा उत्पादन कम हुने समयमा उनीहरूको माग पनि कम हुने गरेको छ । यो विद्युत् व्यापारका माध्यमबाट एकअर्काको आवश्यकता पूरा गर्ने महत्वपूर्ण अवसर हो ।”

हाम्रो संविधानले राखेको समाजवादको लक्ष्य प्राप्तिका लागि देश आर्थिकरूपमा समृद्ध हुनु अपरिहार्य रहेको भन्दै उहाँले विद्युत् आर्थिक विकासका लागि कच्चा पदार्थ पनि भएको उल्लेख गर्नुभयाे । 

हामीले चाहेको समृद्धिका लागि विद्युत् उत्पादन र खपत वृद्धि गर्दै लैजानुपर्नेमा जोड दिँदै उहाँले प्रतिव्यक्ति विद्युत् खपत न्यून रहेकाले यसलाई कम्तिमा प्रतिव्यक्ति विद्युत् खपत ७०० युनिट पुर्याउनुपर्ने आवश्यकता औँल्याउनु भयाे । 

मन्त्री भुसालले विद्युत् व्यापारको क्षेत्रमा भारतसँग महत्वपूर्ण सहमति गरेको र त्यो दक्षिण एसियाकै ऊर्जा व्यापारका सम्बन्धमा कोसेढुङ्गा बन्ने आफूले विश्वास लिएको बताृनु भयाे । समझादारी बहुपक्षीयस्तरमा पनि गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयाे । उहाँले त्यसका लागि सरकारले विभिन्नस्तरबाट निरन्तर पहल गरिरहेको जानकारी गराउनु भयाे । नेपालको विद्युत् उत्पादनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको तथ्य पेश गर्दै ऊर्जा मन्त्रीले  पछिल्लो समयमा निजी क्षेत्रले ऊर्जा व्यापारका सम्बन्धमा पनि निरन्तर छलफल र बहस चलाएकामा धन्यवाद दिनुभयाे । 

हालै मात्र सरकारले नेपाल विद्युत् व्यापार कम्पनीलाई अन्तरदेशीय विद्युत् व्यापारको अनुमति प्रदान गरेको छ । मन्त्रालय अन्तरदेशीय विद्युत् व्यापारमा सहयोग पुगोस् भनेर निजी क्षेत्रलाई पनि विद्युत् व्यापारका लागि अनुमति दिने तयारीमा रहेको उहाँको भनाइ छ ।  

उहाँले भन्नुभयाे, “विद्युत् व्यापारमा सरकारी र निजी क्षेत्रको निरन्तर पहलकदमीबाट हामीले सफलता प्राप्त गर्नेछौँ भन्ने मैले विश्वास लिएको छु ।”  विद्युत् व्यापारका क्षेत्रमा नेपालको मात्र नभई भारत तथा बङ्गलादेशका निजी क्षेत्रले पनि यस किसिमको चासो राख्नुलाई आफूले सकारात्मक अर्थमा लिएको तथा यस्तो सक्रियताले क्षेत्रीय विद्युत् व्यापारमा महत्वपूर्ण सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयाे । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *