सावधान ! मापासेकाे परिणाम, ४३९ चालकको लाइसेन्स निलम्बन
Investopaper, श्रावण १५, २०७६
काठमाडौँ — यातायात व्यवस्था कार्यालयले मापसे गरी सवारी साधन चलाउने ४३९ चालकको अनुमतिपत्र (लाइसेन्स) निलम्बन गरेको छ । उक्त कार्यालयले महानगरीय ट्राफिक प्रहरी महाशाखाको सिफारिसमा ५ पटकभन्दा बढी मापसे कारबाहीमा परेका व्यक्तिको लाइसेन्स निलम्बन गरेको हो ।
२०६८ मंसिर १७ देखि मापसे जाँचलाई कडाइ गर्दै आएको महाशाखाले हालसम्म उपत्यकामा मापसे सेवन गरेर सवारी साधान चलाउने एक लाख ९० हजार ६९० चालकलाई कारबाही गरेको छ । महाशाखाले २०६८ सालदेखि मापसे जाँच गरे पनि लाइसेन्समा प्वाल पार्ने काम भने २०६९ मंसिरदेखि गर्दै आएको हो ।
पहिलोपटक मापसे सेवन गर्ने एक लाख ४९ हजार २१६, दोस्रोपटक २७ हजार ४७७, तेस्रोपटक ९ हजार ९९, चौथोपटक ३ हजार २८४ र पाँचौँ पटक एक हजार १७५ चालकलाई कारबाही गरिएको थियो । महाशाखाले मापसे सेवन गरी सवारीसाधन चलाउने चालकको लाइसेन्समा प्वाल पार्दै आएको छ ।
महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले पछिल्लो समय उपत्यकामा मापसे सेवन गरी सवारीसाधन चलाउने चालकको संख्यामा कमी आएको बताए । ‘पछिल्ला वर्षमा मापसे कारबाहीमा पर्नेको संख्यामा कमी आएको छ’, उनले भने । महाशाखाका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा २२ हजार २२६ चालक मापसेमा कारबाही परेकामा २०७५/०७६ मा २१ हजार ९७३ चालक कारबाहीमा परेका थिए ।
- रासस