पेटमा जुकापर्ने कारण, लक्षण, राेकथाम तथा उपचारविधि

डा. ललित नारायण मिश्र

धेरै जसो केटा-केटीहरुको पेटमा जुका पाईन्छ । तर कहिलेकहिं बयस्क मानिस पनि जुकाबाट पीडित भएका हुन्छन् । जुका जो कोहिलाई पनि हुन सक्छ । जुकाका प्रकार पनि धेरै हुन्छन् । जस्तै, राउन्ड वर्मस, थ्रेडवर्मस, टेपवर्मस, पिनवर्मस, हुकवर्मस, जिआर्डिया आदि जुकाका प्रकार हून् ।

यो रोग लागेमा बिरामीले खाएको खाने कुराको पोषक तत्व जुकाले खाईदिन्छ । व्यक्तिको शरीरमा लाग्दैन र पीडित व्यक्ति जति खाएपनि दुब्लो-पातलो र कमजोर देखिन्छ । लामो समयसम्म यो रोगको उपचार नगरे रोगीलाई एनिमिया, कुपोषण, एलर्जि तथा छारेरोग लाग्ने संभावना बढि हुन्छ ।

जुँका पर्नुका कारणहरु : जुकाहरु सानो आन्द्रामा बस्छन् । फर्टिलाईजेशन (गर्भाधान) गरेपछि पोथीजुकाले लाखौंको संख्यामा फुल पार्छे । जुन फुल मानिसको दिशाबाट बाहिर निस्कन्छन् । अनुकुल वातावरणमा यि फुलहरु रोगजन्य हुन्छन् । यि फुलहरु दुईदेखि तीन सप्ताहमा सक्रिय लार्भा हुन्छन् । मानिसले जुकाको फुल खाएपछि संक्रमण सुरु हुन्छ ।

जुका पेटभित्र पर्ने होइन, खाएपछि मात्र बाहिरबाट पेटमा पर्ने हो । जुकाका फुलहरु सानो आन्द्रामा विकशित हुन्छन् र गतिशिल लार्भा बन्दछन् । सानो आन्द्राको भित्तालाई छेडेर रगतको नलीमा पस्छन् र दाहिने पट्टी मुटुमा पुग्छन् । त्यसपछि पुन: फोक्सोबाट घाँटीमा आइपुग्छन् । त्यसपछि अन्न नली हुँदै आमाशयमार्फत पुन: सानो आन्द्रामा पुग्छन् । यसप्रकार जुकाको जीवन चक्र चलिरहन्छ ।

पेटमा जुका पर्ने कारण:

  • जुका पर्नुको प्रमुख कारणमा नङ् टोक्ने बानी,
  • हात नधोईकन खाने कुरा खानु,
  • भुइमा झरेको खाने कुरा टिपेर खानु,
  • काँचै खाने कुरा सलाद नपखाली खानु ।
  • नाक कोट्याउँदै औला मुखमा हाल्नु ।
  • माटो खानु ।
  • राम्ररी नपाकेको मासु खानु, धेरै गुलियो चिज खानु आदि पर्दछन् ।

पेटमा जुका परेकाे लक्षणः

  • पेट दुख्नु, पखाला लाग्नु, अपच हुनु, वाक–वाक लाग्नु र बान्ता हुनु,
  • ज्वरो आउनु, टाउको दुख्नु, खोकी लाग्ने, वजन घट्नु, रोगी दुब्लोपातलो हुनु,
  • अनुहार पहेलो देखिनु, बारम्बार नाकमा औला हाल्नु, मलद्वार चिलाउनु,
  • आँखाको वरिपरि कालो घेरा पर्नु,
  • धेरै भोक लाग्नु, पेट ठुलो हुनु र कडा हुनु,
  • निन्द्रामा दाँत किटकिटाउनु, निन्द्रा मै औछ्यानमा पिशाब गर्नु, पिशाव सेतो भएर जम्नु,
  • निन्द्रामा बेचैनी हुनु, जिउ भारी हुनु, हात खुट्टा चिसो बनिरहनु,
  • चिडचिडापन आउनु, जिद्दिपना हुनु, सा-सानो कुरामा रुनु/कराउनु,
  • जे गर्दा पनि उसको चित नबुझ्नु ।

रोकथाम :

धेरैजसो बालबालिकाहरु फोहर तथा दुषित माटोमा खेल्दा उनीहरुको हातमा जुकाको फुल टाँसिन्छ र पछि मुखमा औंला हाल्दा जुका सर्ने हुनाले घरमा केटाकेटीहरुलाई सफा सुग्घर गर्ने बानी बसाल्नु पर्छ ।

  • खाना खानु अगाडि साबुन पानीले हात राम्ररी धुने ।
  • भुईमा झरेको खाना नखाने ।
  • हातको नङ काट्ने ताकि फोहर जम्मा नहोस् ।
  • जहाँ पायो त्यही दिशापिशाब नगर्ने ।
  • खाने पानी उमालेर वा फिल्टर गरेर मात्र खाने ।
  • भान्छा कोठाको सफाइमा ध्यान दिने ।
  • झिंगाबाट खाद्य तथा पेय पदार्थ बचाउने ।
  • परिवारमा कसैलाई जुका परेमा सबैलाई उपचार गराउने ।
  • बच्चाको मुखमा औला हाल्ने बानी छुटाउने ।
  • पेट सफा राख्ने कब्जियत हुन नदिने ।

जुका हेर्दा सामान्य भएतापनि कहिलेकाहि यसले नराम्रो परिणाम देखाउने रोग भएको हुनाले सबै जना सजग भइ व्यक्तिगत सरसफाइमा ध्यान दिएर समय–समयमा दिसाको परीक्षण गराई उपचार गरेमा जुकाबाट बच्न सकिन्छ । यो समस्यामा खानपिनमा सुधार गर्दै सरसफाइमा ध्यान पुर्‍याई उपचार गर्न सकिन्छ ।

के खाने :

स्वच्छ सफा पौष्टिक खान खाने । तरकारी र फलमा करेला, परवल, लौका, काँचो मेवाको सब्जी, बेथुको साग, पुदिना, प्याज, गोलभेंडा, गाँजर, अमला, स्याउ, पाकेको अम्बा , आलुबखेडा, केरा, भुईकटहर, काँचो नरिबल र नरिवलको पानी खाने ।

के नखाने :

तारेको, भुटेको, बासिखाना, बेसनबाट बनेको खानेकुरा नखाने । मिठाई, चकलेट, चिनी नखाँदा राम्रो ।

उपचार विधि :

होमियोप्याथीमा रोगीको मानसिक एवं शारीरिक लक्षणहरुलाई मध्यनजर राखेर रोगको अवस्था, जुकाको प्रकारसमेतलाई हेरि यस समस्याको लागि प्रयोग गरिने केहि औषधिहरु निम्न लिखित छन ।

औषधिहरु, सिना, चेलिडोनियम आयल, फिलिक्स मास, सेन्टो नाइन, कुप्रम अक्सिडेटम, नेट्रम फोस, केलिम्युर, टियुक्रियम, कुकरबिटा पेपो, चिलोन-क्यू, स्पाइजेलिया, कल्केरिया कार्ब, सलफर, एब्रोटेनम, टेरिबिन्थ, टेल्युरियम, केलेडियम आदि ।

उल्लेखित औषधिहरुको प्रयोग आफ्नो नजिजकको कुनै प्रशिक्षित चिकित्सकको सल्लाह लिई सेवन गर्नु उपयुक्त हुन्छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *