औद्योगिक क्षेत्र छिटाे सम्पन्न गर्न पहल गर्ने मुख्यमन्त्री पाण्डेकाे आश्वासन
इन्भेष्टोपेपर । माघ १०, २०७८
चितवन । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले शक्तिखोर औद्योगिक क्षेत्रको निरीक्षण गर्नुभएकाे छ। प्रदेशका मन्त्रीसहित उद्योगी, व्यवसायीको उपस्थितिमा शनिबार उहाँले सो क्षेत्रको निरीक्षणका साथै जानकारी लिनुभएकाे हाे । सो अवसरमा मुख्यमन्त्री पाण्डेले औद्योगिक क्षेत्र छिटो सम्पन्न गर्न प्रदेश सरकारका तर्फबाट सक्दो पहल गर्ने आश्वासन दिनुभयाे ।
उहाँले भन्नुभयाे, ‘यो आयोजना सम्पन्न गर्न धेरै रकम खर्च हुने र सबै एकैपटक सम्पन्न गर्न कठिन हुने हुँदा चरणबद्ध काम सम्पन्न गर्न संघीय सरकारलाई आग्रह गरिनेछ । भरतपुरमा बन्दै गरेको औद्योगिक प्रदर्शनी केन्द्रलाई बजेट विनियोजन गराएर सम्पन्न गराउन सहयोग रहनेछ ।’
उक्त अवसरमा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनाल, श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णराज पन्त, कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, बागमती प्रदेश उद्योग परिसंघ अध्यक्ष भेषराज दुवाडी, उद्योग संघ चितवनका अध्यक्ष त्रिलोचन कँडेल, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठलगायत सहभागी हुनुहुन्थ्याे । (रासस)
