‘को–हजबेण्ड’ अमेरिका र युरोपको प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा
इन्भेष्टोपेपर । आश्विन १९, २०७८
काठमाडौं । नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) अमेरिका र युरोपका प्रतिष्ठित चलचित्र महोत्सवहरुमा छनौट भएको छ ।
युरोपको जर्मनीस्थित १८ औं टेगेन्सी इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिबल, स्लोभाकियाको २९ औं इन्टरनेशनल फिल्म फेस्टिबल अफ माउन्टेन फिल्मस् पोपराडमा फिल्म ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) छनौट भएकोे हो । यो दुबै देशमा अक्टोबर १३ देखि १७ तारिखसम्म चलचित्र महोत्सव हुँदैछ । ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) अक्टोबर १५ तारिखका दिन दुबै देशमा प्रदर्शन हुँदैछ ।
निर्देशक गणेश पाण्डेका अनुसार, अक्टोबर १ देखि सुरु भई २४ तारिखसम्म अमेरिकाको वासिङटन राज्यस्थित शियाटल सञ्चालन हुने तस्विर साउथ एशियन फिल्म फेस्टिबलमा पनि ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) प्रदर्शन हुँदैछ । ‘नेपालको डकुमेन्ट्री फिल्म अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनौट हुनु हाम्रो टिमका लागि मात्र होइन्, नेपाल र नेपालीका लागि पनि गर्वको कुरा भन्ने लाग्छ’– निर्देशक पाण्डेले भन्नुभयो ।

विश्वका विभिन्न देशमा छनौट भइरहेको ‘सहायक श्रीमान्’ (को–हजबेन्ड)ले गत बर्ष रसियामा आयोजित १९ औं अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिबलमा (19th International Kansk Video Festival) प्रथम पुरस्कार ‘ग्राण्ड प्रिक्स अवार्ड’ जितेको थियो भने नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पनि उत्कृष्ट फिल्म अवार्डसहित एक हजार अमेरिकी डलर जित्न सफल भएको थियो ।
‘भाग्यले बाँचेकाहरु’ नामक वृत्तचित्रमार्फत् संसारभर चर्चा कमाउनुभएका निर्देशक पाण्डेको ‘सहायक श्रीमान्’ नयाँ डकुमेन्ट्री फिल्म हो । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतारोहण महोत्सव (किम्फ) मा रिलिज गरिएको ‘सहायक श्रीमान्’ बहुपति प्रथामा आधारित छ । ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको हो ।

घरमा जति दाजुभाई छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतार्नुभएको हो । हुम्लाको लामा समुदायमा अहिले पनि दाजुभाईका लागि एउटै श्रीमती बिहे गर्ने चलन छ । निर्देशक पाण्डेले करिब ४ वर्षको छायाङकन र रिसर्चबाट सहायक श्रीमान् निर्माण गर्नुभएको हो । साइन मिडिया प्रालिले निर्माण गरेको यो वृत्तचित्रको लेखन पनि निर्देशक पाण्डेले नै गर्नुभएको हो ।
