हास्य कलाकार मनाेज गजुरेलले गर्नुभाे दाेस्राे विवाह
इन्भेष्टोपेपर । आश्विन २५, २०७८
काठमाडौं – हास्य कलाकार मनाेज गजुरेलले दाेस्राे विवाह गर्नुभएकाे छ । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दे गजुरेलले दाेस्राे विवाह गरेकाे जानकारी दिनुभएकाे हाे।
मनाेज गजुरेलले नेपाल सरकारकाे न्याय सेवामा अधिकृत तहमा कार्यरत मन्जु पाेखरेलसँग दाेस्राे वैवाहिक सम्बन्ध स्थापना भएकाे फेसबुक मार्फत जानकारी गराउनु भएकाे छ । उहाँले सम्पुर्ण मिडियाकर्मीहरूलाई व्यक्तिगत जीवनका बारेमा काल्पनिक समाचार नलेखिदिन र मन्जुजीको इज्जत र प्रतिष्ठामा आँच आउने अमर्यादित कथा नकथि दिन अनुराेध गर्नुभएकाे छ ।
यसैगरि उहाँका सन्तानको सुख र शान्तीकालागी परपीडक ट्रोल र भिडियो नबनाईदिनु हुनसमेत आग्रह गर्नु भएकाे छ । सामाजिक सन्जालको चरम दुरुपयोगले आफू र आफ्ना सन्तानलाई पार्न सक्ने गंभिर असरलाई पनि महशुस गरिदिन अनुराेध गर्नुभएकाे छ ।
यस्ताे छ गजुरेलले फेसबुकमा लेख्नुभएकाे स्ट्याटस् जस्ताकाे त्यस्तै
आफन्त, साथी तथा शुभचिन्तकहरुमा सुखद जानकारी !
जीवन सधैँ सरल रेखामा नहिंड्ने रहेछ । मेरो लामो वैवाहिक जीवन ४ बर्षपहिले कानुनीरुपमा टुंगिएको कुरा यहाँहरुलाई विदितै छ । त्यसयता म मेरा छोरा र छोरीको एकल अभिभावक भएर बसिरहेको जानकारी पनि जगजाहेर नैतिकताको छ । जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महशुस हुनु स्वाभाविकै हो । त्यसैगरी मेरा बाबु-नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशिल हुनुपनि जरुरी थियो । यी दुबै अवस्थामा साथदिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो । बाबुनानीको आग्रह पनि यस्तै आउन थाल्यो ।
यसै क्रममा नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलजीसँग मेरो चिनजान हुनपुग्यो । बिस्तारै हाम्रो घनिष्टता बढ्न थाल्यो । एकैखालको परिबेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं । एकअर्काका जिम्मेवारीलाई साझा जिम्मेवारी मानेर पूरा गर्ने बाचा गर्याैं । अगाडि आईपर्ने सु:ख/दु:खलाई मिलेर स्वीकार र प्रतिकार गर्ने संकल्प लियाैं । हामीलाई यो निर्णयमा पुग्न हाम्रा बाबुनानीहरुको सुझाव र सहमतीले पनि ठूलो मद्धत गर्यो । सम्पुर्ण मिडियाकर्मी साथीहरुलाई सादर अनुरोध छ- कृपया मेरो व्यक्तिगत जीवनका बारेमा काल्पनिक समाचार नलेखिदिनुहोला । मन्जुजीको इज्जत र प्रतिष्ठामा आँच आउने अमर्यादित कथा नकथि दिनुहोला । हाम्रा सन्तानको सुख र शान्तीकालागी परपीडक ट्रोल र भिडियो नबनाईदिनु होला !
कसैको निजी जीवनका बारेमा कपोकल्पित समाचार बनाउने, असम्बन्धित मान्छेसँग नाम जाेड्ने, हाम्रो विगतको जीवन, वर्तमानको विवाह तथा भविस्यको योजनाका बारेमा अनुमानकारिता नगर्नुहुन पनि अनुरोध गर्दछु । त्यसैगरी हाम्रो नितान्त व्यक्तिगत मामिलाका बारेमा अनाबश्यक सामग्री बनाउने कानुनी, व्यवहारिक र सामाजिक अनुमति कसैलाई नभएको कुरापनि जोडदार रुपमा जाहेर गर्दछु ।
बिगतका अराजक अन्तर्वार्ता, असामाजिक क्रियाकलाप तथा अभद्र व्यवहारका कारण म र मेरा छोराछोरीले ठूलो आघातबाट गुज्रनु परेको छ । त्यस्ता क्रियाकलापलाई स्थान दिने, उचाल्ने र गिजोल्ने युट्युब, अनलाइन समाचार, टिकटक लगायत संजालका प्रयोगकर्ताहरुलाई पनि भद्र सुझाव छ- कृपया एउटा जिम्मेवार अभिभावक भएर बोल्ने र लेख्ने गर्नुहोला । सामाजिक सन्जालको चरम दुरुपयोगले आफू र आफ्ना सन्तानलाई पार्न सक्ने गंभिर असरलाई पनि महशुस गर्नुहोला ।
अन्त्यमा, पुनः सम्पुर्णं आफन्त, साथी तथा शुभचिन्तकहरुलाई यो सुखद जानकारी गराउछौँ कि हामीले आज मिति २०७८ साल असोज २५ गते सोमबार बिहान डोलेश्वर महादेवकाे दर्शन गर्यौँ । त्यसपछि परिवारको उपस्थितिमा त्यहीँ विवाह सम्पन्न गर्यौँ । अनि, सपरिवार मानवसेवा आश्रम (कौशलटार)मा रहेका बुवाआमालाई खाना खुवाएर/खाएर विवाह सम्पन्न गरेकाछौँ । परिस्थिति सिर्जित हाम्रो यो नयाँ अध्यायलाई शुभकामना र आशिर्वाद प्रदान गर्ने सबैलाई धन्यवाद ।
नवदुर्गा भवानीले सबैको रक्षा गरुन् । बडादशैँकाे हार्दिक शुभकामना ।
