आयोगद्वारा ओरेकलाई २४ घन्टे स्पष्टीकरण
इन्भेष्टाेपेपर । वैशाख २०, २०७९
काठमाडौँ । निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकामा प्रमुख पदका नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितबारे जारी भएको प्रेस विज्ञप्ति निर्वाचन आचारसंहिता प्रतिकूल रहेकाले सो सम्बन्धमा स्पष्ट पार्न महिला पुनर्स्थापन केन्द्र (ओरेक) लाई स्पष्टीकरण सोधेको छ । आयोगले उक्त संस्थाको प्रेस विज्ञप्तिलाई सार्वजनिक माध्यमबाट यथाशीघ्र हटाई प्रमाणसहित २४ घन्टभित्र स्पष्टीकरण सोध्न वैशाख १८ गते ओरेकलाई निर्देशन दिएको हो ।
आयोगले ओरेकका कार्यकारी निर्देशक लुभराज न्यौपानेलाई स्पष्टीकरण सोध्दै निर्वाचन आचारसंहिताको दफा ११ को खण्ड (ख) मा गैह्रसरकारी संस्था तथा त्यस्तो संस्थासँग सम्बद्ध पदाधिकारी र कर्मचारीले राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नहुने समेतको व्यवस्था रहेकोमा उम्मेदवार स्थापित उम्मेदवार बन्न लायक छैनन् भन्ने प्रेस विज्ञप्तिमा समावेश भएकाले स्थापितको संवैधानिक र कानूनी हकको उलङ्घन हुन्छ, हुँदैन ? भनी स्पष्टीकरण सोधेको छ ।
आयोगको स्पष्टीकरणपत्रमा भनिएको छ, ‘सामाजिक सेवा गर्ने पवित्र उद्देश्यले गठन भएका गैह्रसरकारी संस्थाले उम्मेदवारी मनोनयन गर्ने राजनीतिक दलका आन्तरिक मामिलामा प्रश्न उठाउन मिल्छ, मिल्दैन ?, यसरी आचारसंहिता उलङ्घन हुने गरी प्रेस विज्ञप्ति जारी गरेको सम्बन्धमा तपाईँ र तपाईँ सम्लग्न हुनुभएको संस्थालाई किन कारबाही नगर्ने ?’
