श्रम रोजगार बैंक : अनुकरणिय कार्यकाे थालनी, युवालाई गाउँमै भ्याइनभ्याइ

Investopaper, असाैज ०६, २०७६

कालीकोट — कपुर महतारा रोजगारीका लागि मलेसिया गए । तीनवर्षे सम्झौता सकिएपछि दोहोर्‍याएर जाने मन गरेनन् । किन त ? ‘विदेशमा दुःख धेरै, पैसा थोरै,’ उनले भने । अर्को कारण पनि छ, गाउँमै रोजगारी । रास्कोट नगरपालिकाद्वारा सञ्चालित श्रम रोजगार बैंकमा आबद्ध उनी महिनामा ३० देखि ४० हजार रुपैयाँसम्म कमाउँछन् ।

तीन महिनामा १ लाख १० हजार रूपैयाँसम्म कमाइ, चैतदेखि असारसम्म ३ करोड भुक्तानी, चालु आर्थिक वर्षमा ९ करोड विनियोजन गरिएकाे छ । वैशाखमा पहिरोले रास्कोट–८ का दले विकको घर भत्किएपछि श्रम रोजगार बैंकका सदस्यले १५ दिनभित्रै नयाँ घर निर्माण गरेर हस्तान्तरण गरेका थिए । ‘बल्ल गाउँमा गरिबको सरकार आएको महसुस भयो, घर बनेपछि अर्काको गोठबाट आफ्नै घरमा सरेका छौं ।’ — दले विक

‘बिहान–बेलुकी घरपरिवारसँग बसेर काम गर्न पाइएको छ, कमाइ पनि राम्रै छ,’ रास्कोट–७, फुकोटका महताराले भने । रास्कोट नगरपालिकाले गत फागुनमा घोषणा गरेको श्रम रोजगार बैंकमा महतारा जस्ता २ सय ६० जना युवा छन् । जसमा महिला ८० जना छन् । दलित समुदायका युवायुवतीको संख्या १ सय छ । २०–२० जनाको समूह बनाएर उनीहरूलाई चैतदेखि नगरपालिकाले सञ्चालन गरेका विभिन्न योजनामा परिचालन गरिएको छ । बेरोजगार युवालाई विकास निर्माण र उत्पादनसँग जोड्न बैंकमा ३ हजार सदस्य पुर्‍याएर रोजगार दिने नगरपालिकाको लक्ष्य छ ।

व्यवस्थापकका रूपमा २० जना युवा परिचालन गरिरहेका महतारा एक युवाले तीन महिनामा १ लाख १० हजार रुपैयाँ कमाउने गरेको बताउँछन् । ‘हाम्रो टोलीमा वैदेशिक रोजगारमा गएर फर्किएका नै ६ जना छौं,’ उनले भने । रास्कोट–४ की २५ वर्षीया मनीषा सुनारले ५९ दिन काम गरेर ४० हजार रुपैयाँ कमाएको सुनाइन् । ‘त्यही पैसाले काठमाडौं पुगेर मेरो र छोरीको उपचार गराएँ,’ उनले सुनाइन्, ‘ढुंगा बोकेरै भए पनि राम्रो कमाइ हुँदोरहेछ । कमाएपछि घरका मान्छेले पनि हेला नगर्ने रहेछन् ।’

१२ कक्षा पास गरेकी रास्कोट–२, सिम्खानाकी सुमित्रा सिंखडाले सडक निर्माणमा काम गरेर ५६ हजार कमाइन् । त्यही पैसाबाट सुर्खेतमा कम्प्युटर सिकिरहेकी छन् । ‘मेरो इच्छा जागिर खाने हो । त्यही भएर श्रम बैंकमार्फत कमाएको पैसाले कम्प्युटर सिकिरहेकी छु ।’ गत वैशाखमा पहिरोले रास्कोट–८ का दले विकको घर भत्किएपछि श्रम रोजगार बैंकका सदस्यले १५ दिनभित्रै नयाँ घर निर्माण गरेर हस्तान्तरण गरेका थिए । ‘बल्ल गाउँमा गरिबको सरकार आएको महसुस भयो,’ विकले भने, ‘घर बनेपछि अर्काको गोठबाट आफ्नै घरमा सरेका छौं ।’

नगर प्रमुख काशीचन्द्र बरालका अनुसार नगरपालिकाले गत आर्थिक वर्षमा श्रम रोजगार बैंक स्थापना तथा सञ्चालनका लागि २ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको थियो । केही थप योजनामा पनि काम गराइएकाले ३ करोड रकम युवाले पाएका छन् । उनीहरूले चैतदेखि असार पहिलो सातासम्म नगरपालिका र कर्णाली प्रदेश सरकारले बजेट विनियोजन गरेका पाँचवटा सडक आयोजनामा काम गरेका थिए । चालु आर्थिक वर्षमा नगरपालिकाले पूर्वाधार विकासमा ९ करोड बजेट विनियोजन गरेको छ ।

‘यो बजेटको अधिकांश काम श्रम रोजगार बैंककै सदस्यले गर्नेछन्,’ नगरका प्रमुख प्रशासकीय अधिकृत बमले भने । चालु आर्थिक वर्षका लागि योजना छनोट भइरहेको र यही महिनाभित्र काम सुरु हुने पनि उनले जानकारी दिए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमका अनुसार रोजगार बैंकमा उनीहरूले चैतदेखि असार पहिलो सातासम्म नगरपालिका र कर्णाली प्रदेश सरकारले बजेट विनियोजन गरेका पाँचवटा सडक आयोजनामा काम गरेका थिए ।

नगर प्रमुख बरालले रास्कोटको सिको गरेर अरू ४५ वटा स्थानीय तहले श्रम रोजगार बैंक स्थापनाको तयारी गरेको बताए । ‘श्रम तथा रोजगार मन्त्रालयको टोली पनि अध्ययनका लागि रास्कोट आउन लागेको छ,’ उनले भने । उनले बैंकमा रहेका युवालाई मागअनुसार बाहिर पठाउने नीति भए पनि नगरमै काम पर्याप्त भएको बताए । कर्णालीको १० जिल्लामा उच्च प्रविधियुक्त नर्सरी निर्माणका लागि काठमाडौंको नाम्सेट कम्पनीसँग ४० कामदार पठाउने सम्झौता भने भएको उनले सुनाए । याे समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *