सरकारी वेबसाइटमा साइबर आक्रमणको पुष्टि

न्भेष्टाेपेपर ।  माघ १६, २०७९

काठमाडौँ ।  नेपाल सरकारका वेबसाइट फ्रान्स, जर्मनी, इटली, इजरायललगायतका देशबाट साइबर आक्रमण भएको पुष्टि भएको छ। डिस्ट्रिब्युटेड डिनायल अफ सर्भिस (डिडक्स) आक्रमणका कारण नेपाल सरकारका सम्पूर्ण वेबसाइट शनिबार एक्कासि करिब पाँच घण्टा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका थिए। 

राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)का सहायक निर्देशक तथा सूचना अधिकारी रमेश पोखरेलले फ्रान्स, जर्मनी, इटली, इजरायललगायतका देशबाट डीएनएस तहको आक्रमण ‘डिडक्स अट्याक’ भएको जानकारी दिनुभयो। “यो विभिन्न स्थानका धेरै कम्प्युटरलाई आफ्नो कब्जामा लिएर त्यहाँबाट गर्ने साइबर आक्रमण हो,” उहाँले भन्नुभयो। 

उहाँका अनुसार यस साइबर आक्रमणबाट सर्भरमा कुनै क्षति भएको छैन। उहाँले केही घण्टा जीओभी डट कम डट एनपी डोमेनका सरकारी साइटमा सेवा अवरुद्ध भएको र अहिले सबै कुरा केन्द्रको नियन्त्रणमा आइसकेको बताउनुभयो।   

उहाँले साइबर आक्रमण भएपछि जस्तो बलियो होस्टिङ र सेवा पनि डाउन हुने बताउनुभयो। “यस्तो आक्रमण संसारभर नै आएको हो। एसियाको १० प्रतिशत साइबर आक्रमण नेपालमा आइरहेको तथ्याङ्कले देखाउँछ,” उहाँले भन्नुभयो। यस्ता समस्या आगामी दिनमा आउन नदिन केन्द्रमा दक्ष प्राविधिक जनशक्ति थप गर्ने, प्रविधि अपग्रेड गर्नेलगायतका विषयमा उच्च तहमा विज्ञहरूसँग सल्लाह भइरहेको उहाँले जानकारी दिनुभयो। 

“हामीले सङ्घीय, प्रदेश र स्थानीय सरकारका वेबसाइट होस्टिङ गरिरहेका छौँ। दैनिक १०/२० वटा वेबसाइट होस्टिङका लागि हामी कहाँ आइरहेका हुन्छन्। हामीले हाल करिब एक हजार पाँच सय वेबसाइट सञ्चालन गरिरहेका छौँ,” उहाँले भन्नुभयो। 

बढ्दो अनलाइन सिस्टमको प्रयोग (ट्राफिक)का कारण विद्यमान स्रोत, साधन र प्राविधिक जनशक्ति बढाउनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो। “विश्वमा प्रयोगमा रहेका नयाँ प्रविधि, फायरवाल र सफ्टवेयर एप्लिकेसनको प्रयोग गर्ने विषयमा छलफल भइरहेको छ। सर्भरको सुरक्षा प्रणाली अझ मजबुत बनाउनेतर्फ लागिरहेका छौँ,” उहाँले भन्नुभयो। 

शनिबार दिउँसो करिब १२:३० बजेदेखि अवरुद्ध रहेका सरकारी वेबसाइट ४:३० बजे केही मिनेट सञ्चालनमा आए पनि पुनः अवरुद्ध भएका थिए। त्यसपछि बेलुका करिब ५:३० बजेदेखि मात्र अधिकांश वेबसाइट सञ्चालनमा आएका थिए। सूचना अधिकारी पोखरेलका अनुसार एनआईटीसीमा रहेका सबै सरकारका वेबसाइट सञ्चालनमा आएका छन्। याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *