सामान बिक्री नभएपछि अन्तर्राष्ट्रिय बजार खोज्दै डिडिसी

न्भेष्टाेपेपर । कात्तिक ५, २०८०

काठमाडौँ ।  दुग्ध विकास संस्थान (डिडिसी) ले आफ्ना बढी भएका दुग्धजन्य पदार्थ निर्यातका लागि विभिन्न विकल्पको खोजीमा लागेको छ । किसानबाट दुध खरिदको अनुपातमा बिक्री नहुँदा दुग्धजन्य पदार्थको मौज्दात बढ्दै जाँदा त्यसलाई बिक्रीका लागि विभिन्न बजारको खोजीमा लागेको डिडिसीले आफ्नो वस्तु मलेसिया निर्यात गर्नका लागि त्यहाँस्थित कम्पनीसँग छलफल गरेको छ । 

मलेसियाबाट आएका एक कम्पनीले डिडिसीका प्रतिनिधिहरूसँग छलफल गरी दुग्धजन्य पदार्थ खरिदका लागि सकारात्मक देखिएको बताइएको छ । डिडिसीका महाप्रबन्धक सञ्जिव झाका अनुसार मलेसियाका एक कम्पनी नेपाल आएर कात्तिक २ गते छलफल गरेर फर्केको छ र अन्य प्रक्रियाको बारेमा आन्तरिक तयारी चलिरहेको छ ।  

ती कम्पनीले डिडिसीबाट बोतलमा भएको ‘फ्रेसमिल्क’ लैजाने भनी छलफल गरेको छ । ती कम्पनीले प्रतिवर्ष करिब २५ लाख बोतल ‘फ्रेसमिल्क’ लैजान सकिने भनेको छ तर त्यसमा त्यो कम्पनीले आफ्नो सर्त राखेको महाप्रबन्धक झाले बताउनुभयो । ती कम्पनीले बोतलमा मेडइन नेपाल अथवा डिडिसी लेखिए पनि ब्रान्डको नाम आफ्नो देशको हुने सर्त राखेको छ । त्यो सर्तमा सहमति नभए पनि डिडिसी सकारात्मक देखिएको स्रोतले जनाएको छ । 

डिडिसीबाट दुग्धजन्य पदार्थ गुणस्तरीय रहेको र त्यही कारणले आफूहरू आकर्षित भएको धारणा कम्पनीका प्रतिनिधिहरूले राखेका थिए । डिडिसी पनि ‘फ्रेसमिल्क’ दिन तयार छ तर ब्रान्डको विषयमा थप छलफल गरेर जानकारी गराउने भनिएको महाप्रबन्धक झाले बताउनुभयो ।

ती कम्पनीले पनि आपसमा थप छलफल गरेर जानकारी गराउनेछ भने यताबाट पनि बोतलमा मलेसियाको ब्रान्डको नाम राख्ने की नराख्ने बारेमा छलफल गरेर जानकारी गराउने उहाँले बताउनुभयो । आफूहरूसँग अहिले ६० करोडभन्दा बढीको दुग्धजन्य पदार्थ मौज्दात रहेको र यो दिनदिनै बढ्दै गइरहेका कारणले बाहिर निर्यातका लागि पहल सुरु गरेको उहाँले बताउनुभयो । उहाँले भारत, जापान, बङ्गलादेशलगायतका देशका कम्पनीहरूसँग पनि अनौपचारिक छलफल सुरु भएका छन् र चाँडै नै कुनै न कुनै उपाय निकाल्ने बताउनुभयो । त्यसै गरी यस पटकको दसैँतिहार तथा छठ पर्वमा दुध तथा दुग्धजन्य पदार्थ बिक्रीवितरण गर्नका लागि डिडिसीले सहुलित बजार सञ्चालनमा ल्याएको छ । 

डिडिसीको केन्द्रीय कार्यालय लैनचौरलगायत अन्य ठाउँमा पनि सहुलियत पसल सञ्चालनमा ल्याएको छ । भाटभटेनीलगायत अन्य ठाउँमा पनि सहुलियतको व्यवस्था गरेको छ । महाप्रबन्धक झाले भन्नुभयो, “यो चाडपर्वमा छुट दिएर भए पनि मौज्दात रहेका दुग्धजन्य पदार्थ बिक्री गर्नुपर्ने हुन्छ, यही चाडपर्वमा बिक्री वितरण गरेर किसानको बक्यौता रकम भुक्तानी गर्ने सोच बनाएको छु ।” डिडिसीको करिब ५० करोड रुपियाँ किसानलाई भुक्तानी दिन बाँकी छ । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *