मरेको मानिसले पछाडी फर्केर ..
-- बुद्धीसागर
मरेको मानिसले
पछाडी फर्केर – आँसुले टिलपिल भएका
आफन्तका आँखाहरु हेर्छ कि हेर्देन ?
मरेको मानिस
हिँड्छ कति कोस, कति जुनी ?
कुन नदीको किनारमा
नुहाउँछ चिसो पानीले,
र धुन्छ – गालाभरि बसेका
आँसुका धमिला धर्साहरु,
मरेको मानिस रुन्छ कि रुदैन ?
के – के लैजान्छ
मरेको मानिसले आफ्नो झोलामा–
जीवनकालभरि सबैबाट जोगाएका
स्मृतीहरु ?
पहिलोपल्ट लेखेको प्रेमपत्र ?
पहिलोपल्ट हिडेको पाइला ?
प्रिय किताव ?
परिवारको सामुहिक तस्विर ?
पहिलोपल्ट सन्तानले बोलेको
आफ्नो नाम ?
कि जान्छ – सबै छाडेर
बिर्सिएर सवथोक,
आत्मबाट मेटाएर
जीवनले कोरेका चित्र र अक्षरहरु ।
मरेको मानिसले
आकाशगंगाको डिलमा उभिएर
मुटुबाट सम्बन्धका ध्वजाहरु
फुकाउँछ कि फुकाउँदैन ?
अन्तिमपल्ट
धर्तितिर फर्किएर,
एकजुनी जीवनमा आफूसँग गाँसिएका
सबै – सबैलाई सम्झिएर
मुस्कुराउँछ कि मुस्कुराउँदैन ?
मरेको मानिसको
गोजीमा
फर्किएर आउने ठेगाना हुन्छ कि हुँदैन ?
