प्रहरीको गोलीले अश्वेत पुरुषको मृत्यु भएपछि अमेरिकामा फेरि विरोध चर्कियो

इन्भेष्टोपेपर ।  असार १, २०७७

संयुक्त राज्य अमेरिकामा अर्का अफ्रिकी-अमेरिकीलाई पक्राउ गर्ने क्रममा गोली हानिएको घटना सार्वजनिक भएपछि प्रहरीले गर्ने अत्यधिक बल प्रयोगको फेरि निन्दा सुरु भएको छ।

एक अश्वेत पुरुष रेशर्ड ब्रूक्सलाई शुक्रवार अबेर राति प्रहरीले गोली हानेर मारेको भिडिओ सार्वजनिक भएपछि विरोध सुरु भएको हो। घटनाको विरोधमा हजारौँको सङ्ख्यामा प्रदर्शनकारीहरू सडकमा निस्केका छन्।

जातीय विभेद भएको भन्दै देशका विभिन्न स्थान तथा राजधानी वाशिङ्टन डीसीमा राष्ट्रपति भवन ह्वाइट हाउसनजिक पनि प्रदर्शनकारीहरू भेला भएको विवरण प्राप्त भएको छ। हाउस अफ रेप्रिजेन्टटिभ्समा प्रतिनिधित्व गर्ने एक वरिष्ठ डेमोक्र्याट सांसदका अनुसार ब्रूक्सको गतिविधि “घातक ढङ्गले बल प्रयोग गर्नुपर्ने” किसिमको थिएन।

एट्लान्टाका नगरप्रमुखले पनि त्यस्तै आशयको अभिव्यक्ति दिएका छन्। एट्लान्टा प्रहरीका प्रमुखले राजीनामा दिएका छन् भने घटनामा संलग्न प्रहरीहरूलाई पदमुक्त गरिएको छ।

केही साताअघि प्रहरीले आफ्नो नियन्त्रणमा लिने क्रममा मिनीयापलिसमा जोर्ज फ्लोइड नामक व्यक्तिको मृत्यु भएको थियो। त्यसपछि एट्लान्टामा पनि जातीय विभेद र प्रहरी बर्बरताविरुद्ध प्रदर्शन चर्किएको थियो।

शुक्रवार राति के भएको थियो?

जोर्जा ब्यूरो अफ इन्भेस्टिगेशन्सका अनुसार आफ्नो कारभित्र ब्रूक्स निदाउँदा बाटो छेकिएपछि कसैले प्रहरीलाई फोनबाट सूचना दिएको थियो।

प्रहरीद्वारा जारी ‘बडी क्यामरा’ फूटेजमा अधिकारीहरूले ब्रूक्सको अनुमतिमा उनले मदिरासेवन गरे वा नगरेको जाँच गरिरहेको देखिन्छ। त्यसपछि दुई प्रहरी अधिकारीले ब्रूक्सलाई हत्कडी लगाएको देखिन्छ र त्यही बेला उनीहरूको ‘बडी क्यामरा’ खस्छ।

त्यसपछि सुरक्षा क्यामरामा कैद भएको दृश्यमा ती अधिकारी र ब्रूक्सबीच भुइँमा सङ्घर्ष भइरहेको देखिन्छ। त्यसपछि ब्रूक्सले एक प्रहरी अधिकारीको टेजर खोस्छन् र भाग्न थाल्छन्।

ब्रूक्सलाई प्रहरी अधिकारीहरूले पछ्याइरहँदा उनी भाग्दै र पछाडि फर्कँदै प्रहरीतिर टेजर तेर्स्याउँछन्। त्यसपछि प्रहरीले उनलाई गोली हान्छन्। (बीबीसीबाट)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *