राष्ट्रपतिद्वारा देउवा प्रधानमन्त्री नियुक्त, ६ बजे शपथ ग्रहण
इन्भेष्टोपेपर । असार २९, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । सोमबार सर्वोच्च अदालतले मंगलबार अपराह्न ५ बजेसम्म देउवलाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।
सोही परमादेश अनुसार राष्ट्रपतिले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको र साँझ ६ बजे शपथ ग्रहण कार्यक्रमण तय भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।
कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, नेकपा एमाले माधव नेपाल समूहका २६, जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराई समूहका १२ र जनमोर्चाका १ गरी १४९ सांसदको समर्थन आफूलाई भएको दाबी गर्नुभएकाे थियाे ।
कांग्रेस सभापति देउवा पाँचौं पटक प्रधानमन्त्री नियुक्त हुनुभएको हो । यसअघि उहाँ चार पटकसम्म प्रधानमन्त्री बनिसक्नुभएको छ ।
