कृषि र पर्यटनबाटै पश्चिम चितवनको विकास सम्भव छ : नेता पाण्डे

इन्भेष्टाेपेपर ।  कार्तिक २२, २०७९

भरतपुर । राप्रपाका वरिष्ठ उपाध्यक्ष एवम् चितवन क्षेत्र नं.३ प्रतिनिधिसभा सदस्य पदका उमेदवार विक्रम पाण्डेले समग्र चितवनको विकासका लागि मेघौली र गोलाघाटको विकास गर्नुपर्ने बताउनुभएको छ।

चुनाव प्रचारप्रसारलाई तीव्र बनाउँदै लगेका पूर्वमन्त्री पाण्डेले प्राकृतिकरूपमै पर्यटकीय क्षेत्र मानिएको मेघौली र गोलाघाटलाई व्यवस्थित तरिकाले पर्यटकीय नगरी बनाउन सके समग्र चितवनकै विकासले मुहार फेर्ने दाबी गर्नुभएको हो।

त्यसको लागि नेतृत्वमा काम गर्ने जोश र जाँगर हुनुपर्ने उहाँले बताउनुभयो। यसअघि जितेर गएका नेताहरूले पश्चिम चितवनको विकासबारे खासै चासो नदेखाएको हुँदा यसपटकको निर्वाचनमा पश्चिम चितवनको मुहार फेर्ने सपना बुनेर चितवन–३ मा उमेदवार बनेको उहाँको भनाइ छ। 

‘यसपटक गोलाघाटलाई सीधै नारायणगको पुलचोक र सौराहा जोड्ने गरी पर्यटकीय मार्ग निर्माण गर्ने सपना बोकेर आएको छु,’ उहाँले भन्नुभयो, ‘नारायणी नदी किनारैकिनार पर्यटकीय मार्ग निर्माण गर्न सके नारायणी नदीमा व्यवस्थित तटबन्धनसमेत हुने भएकोले स्थानीयलाई नदी कटानको समस्याबाट ठूलो राहत मिल्छ।’
 
नदी कटानको समस्या समाधान हुनासाथ पश्चिम चितवनको कृषि उत्पादन दोब्बरले वृद्धि गर्न सकिने उहाँको भनाइ छ। ‘पश्चिम चितवन खेतीपातीमा उर्वर भूमि भएकोले यसको भरपुर सदुपयोग गर्न सकिन्छ,’ उहाँले थप्नुभयो, ‘कृषि उत्पादन बढाउन विदेशी मलको आशा गर्नु हुँदैन। स्थानीयस्तरमै प्राङ्गारिक मल उत्पादन गर्नुपर्छ।’

यसअघिका कुनै पनि सरकार र सरकारमा पुगेका मन्त्रीले किसानका लागि समयमै मल तथा बीउको व्यवस्था मिलाउन नसकेको भन्दै उहाँले थप्नुभयो, ‘गुणस्तरहीन मल आउँछ, त्यो पनि नचाहिने बेलामा। त्यसैले मलको लागि किसान आफैँले व्यवस्था गर्न सक्ने वातवारणको सिर्जना गर्ने मेरो योजना छ।’

आवश्यक मलको व्यवस्था मिलाउन सके मेघौली क्षेत्रको खेतीयोग्य जमिनलाई भरपुर सदुपयोग गरेर पश्चिम चितवनको उत्पादनले देशैभर खान पुग्ने कृषि उत्पादन गर्न सकिने उहाँको दाबी छ। ‘कृषि उत्पादन धेरै हुँदा कहाँ लगेर बिक्री वितरण गर्ने भन्ने चिन्ता पनि किसानलाई नभएको होइन। त्यसैले बजारीकरणबारे पनि म सचेत छु,’ उहाँले भन्नुभयो, ‘उत्पादनमात्रै बढाएर हुँदैन। त्यसको बजारीकरण पनि गर्नु आवश्यक छ। अन्ततः बजारीकरणको वातावरण सिर्जना गरेर कृषिकै लागि काम गर्न विदेश गएका युवालाई चितवनमै फर्काउने लक्ष्य लिएको छु।’

सँगसँगै यहाँका आदिवासी थारू समुदायको स्तरवृद्धिका लागि क्षमता र दक्षताका आधारमा रोजगारको व्यवस्था मिलाउन सकिने उहाँले बताउनुभयो। ‘थारू जाति यहाँको भूमिपुत्र हो। तर, देशमा रोजगारको व्यवस्था नहुँदा नचाहेर पनि विदेश जान बाध्य छन्,’ नेता पाण्डेले भन्नुभयो, ‘अब मंसिर ४ पछि उनीहरूलाई आफ्नै गाउँ फर्काउने अभियान थालौँ। त्यसमा मेरो साथ र समर्थन छ।’ याे समाचार कालिका न्यूजमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *